काठमाडौँ, ९ जेठ - प्रतिबन्धित ५०० र एक हजार दरका ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोहका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत हरियाणा घर भई बुढानीलकण्ठ नगरपालिका–२ बस्ने किरण बर्मा भन्ने किरणकुमार सोनी र अनिलकुमार सोनीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
हाल भारतले प्रतिबन्ध लगाएको भारु पाँचसय र एक हजारका नोटहरू विभिन्न नाकाहरू हुँदै अवैध तरिकाले नेपालमा भित्राई काठमाडौँलगायत विभिन्न स्थानहरूमा कारोबार भइरहेको सुराकीका आधारमा ब्युरोबाट अनुसन्धानमा खटिएको प्रहरीले किरणकुमारको डेराबाट सो रकम बरामद गरेको हो ।
कोठाबाट पाँचसय दरका दुई हजार ६०० थान तथा एक हजार दरका तीन हजार ७५० थान गरी जम्मा ५० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि ब्युरोले मङ्गलबार राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाएको छ ।