
सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक फागु पर्व होलीसम्मका लागि स्थगित भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बैठकका लागि नेताहरू उपस्थित भइसकेपछि अन्तिम समयमा स्थगित भएको हो ।
तयारी नपुगेका कारण बैठक स्थगित गर्नुपरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
‘तयारी नपुगेर बैठक स्थगित भयो, अर्को बैठक होलीपछि बस्छ,’ ठाकुरले भने ।
होली चैत्र १५ र १६ गते परेको छ । तराईका जिल्लामा १६ गते होली मनाइन्छ । निर्णायक शक्ति जसपा अनिर्णित बनेपछि सत्ता समीकरण फेरबदल हुने सम्भावना होलीसम्म टरेको छ । जसपा विना नयाँ सरकार नबन्ने भएकाले प्रधानमन्त्री केपी शर्मा अब होलीसम्म ढुक्क हुने देखिएको छ ।
जसपाको बिहीवारको बैठकका लागि २ नम्बर प्रदेशबाट नेताहरू काठमाडौं आएका थिए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा प्रतिपक्षी दल नेपाली कांग्रेससँग समानान्तर वार्तामा रहेको जसपाले निर्णय लिन सकेको छैन ।
जसपाले निर्णय नलिँदा आफू फुर्सदमा रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली पुगेका छन् ।
अध्यक्ष ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू प्रधानमन्त्री ओलीसँग सहमति गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव ओलीसँग सहकार्यको पक्षमा देखिएका छैनन् । यही विवादका कारण जसपा बैठक स्थगित भएको स्रोतको भनाइ छ ।