इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टुक्रुक्क बसेर मलत्याग गरिरहेको जस्तो देखिने मूर्ति तेल अभिभमा ठड्याइएको छ ।
दुई वर्षमा चौथोपटक निर्वाचनको घोषणा गरेका नेतान्याहुको विरोधमा यस्तो मूर्ति राखिएको हो । प्रधानमन्त्री भने आगामी हप्ता हुने निर्वाचनको तयारीमा लागेका छन् ।
तेल अभिभको हाबिमा स्क्वेयरमा बुधवार बिहान मूर्ति देखापरेको इजरायली सञ्चारमाध्यमले लेख्यो । मूर्ति धातुको पेडेस्टलमा राखिएको छ र त्यसमा नेतान्याहु नग्न भएर मलत्याग गरिरहेको जस्तो देखिन्छ ।
मूर्तिकार को हो भन्ने कुरा रहस्यमै छ । तर मूर्तिलाई मानिसहरूले हेरून् भनी उनले त्यस नजिकको टेबुलमा खानेकुरा राखेका थिए ।
पछि महानगरपालिकाका कर्मचारीले मूर्तिलाई हटाएका थिए । प्रहरी अधिकारीहरूले यो मूर्ति कसले बनाएको हो थाहा छ भनी बटुवाहरूलाई सोधपुछ गरेका थिए ।
केही समयसम्म राखिएको मूर्तिले तेल अभिभका निवासीहरूमा विभिन्न किसिमका भाव उत्पन्न गरेका छन् । केही मानिसले मूर्तिसँग तस्वीर खिचाए भने अन्यले त्यसलाई देखेर रिसाएको पारा ल्याए ।