०१ असार २०८३, सोमबार

कमलपोखरीमा साढे २ करोड लिटर पानी हाल्दै काठमाडौं महानगर

कमलपोखरीमा साढे २ करोड लिटर पानी हाल्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुनर्निर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तीव्रगतिमा कार्य भइरहेको जानकारी दिएको छ ।

पोखरीमा केहीदिनमै लबालब (टनाटन) पानी भर्ने पनि काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए ।

‘पोखरी पुनर्निर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी कमलपोखरीमा साढे २ करोड लिटर पानी भर्ने तयारीमा छौं,’ प्रमुख शाक्यले भने, ‘हामीले पुनर्निर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौं । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौं ।’ 

प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै उनीहरूलाई डिजाइनबारे सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गरे ।

उनले पोखरीको बिचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको जानकारी दिए । पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको पनि उनले स्मरण गराए ।

उनले केही व्यक्तिहरूले भ्रम छर्न खोजेको आरोप समेत लगाए । शाक्यले कमलपोखरीमा ४ वटा कुनामा आकर्षक र संस्कृति झल्किने ४ वटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ वटा मण्डप रहने पनि जानकारी दिए ।

‘पोखरी पुनर्निर्माण गर्दा पोखरीको आकारमा १ इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको छ,’ उनले भने, ‘पहिला बेवारिसे र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने अभियानलाई अघि बढाएका छौं । हामीले डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएर बनाएका छौं । संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै हामीले कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएका हौं । त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो ।’ 
  
शाक्यले काठमाडौंमा मानव निर्मित सम्पदा रहेको भन्दै ती सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्दै आएको पनि स्मरण गराए । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरूको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान हो,’ उनले भने, ‘त्यही अन्तर्गत वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुनर्निर्माण गर्ने अभियान अघि बढाएको हौं । यो अभियानअघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरूसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौं ।’ 

उनले आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदा निर्माण–पुनर्निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको र त्यही अनुरूप मूर्त–अमूर्त सम्पदाको संरक्षण गर्दै अघि बढ्ने कुरालाई प्राथमिकता दिएको उनको भनाई छ । ‘अहिले धेरै गुठियारले हजारौं वर्षदेखि संरक्षण गर्दै आएका मूर्त–अमूर्त सम्पदाहरू पनि काठमाडौं महानगरपालिकाले संरक्षण गर्दै आएको छ,’ उनले भने, ‘बहाः, बहिः, पाटी–पौवा, मठ–मन्दिरदेखि जात्रा, चाड–पर्वलाई पनि संरक्षण गरेर अघि बढेको कुरा पनि सबैलाई विदितै छ । त्यो बाहेक पनि सार्वजनिक जग्गाहरुको संरक्षण गरेर हरियाली प्रवदद्र्धन गर्ने कार्य अन्तर्गत काठमाडौं महानगरपालिकाले पार्कहरु निर्माण कार्यलाई पनि अघि बढाइरहेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्