
नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स फुटबल क्लबले बिहीबार विकेश कुथु र बाल गोपाल महर्जनलाई क्लबको मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको छ ।
केही सातामा सुरु हुने नेपाल सुपर लिगको पहिलो संस्करणमा उतार्न काठमाडौं रेजर्सले उनीहरुलाई मार्की प्लेयर र कोचका रुपमा बिहीबार सार्वजनिक गरेको हो ।
विकेश कुथु नेपालको राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य तथा कुशल गोल किपर हुन्। १९ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका कुथुले मोफसलमा हुने टुर्नामेन्टहरुमा हालसम्म ७ पटक बेस्ट गोल किपर अवार्ड पाइसकेका छन् । साग फुटबल, बनबन्धु कप र एएफसी सोलिडारिटी कपमा नेपालले गोल्ड मेडल हासिल गर्दा उहाँले आफूलाई टिमका महत्वपूर्ण सदस्य सावित गरेका थिए ।
त्यसैगरी, नेपाली फुटबल जगतका विरासत चर्चित खेलाडी बालगोपाल महर्जनलाई काठमाडौं रेजर्सले कोचका रुपमा अनुबन्ध गरेको छ ।
नेपाली राष्ट्रिय टिमलाई लामो समयसम्म नेतृत्व दिनु भएको महर्जन राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा आफ्नो रणनैतिक क्षमतालाई प्रदर्शन गरिसकेका छन् ।
साफ गेममा खेलाडी र कोच दुवैका रुपमा गोल्ड मेडल जितिसक्नु भएको बाल गोपाल महर्जन नेपाली फुटबल फ्यानमाझ लोकप्रिय नाम हो ।
काठमाडौंमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौं रेजर्सले विज्ञान राज शर्मालाई टिमका कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । उहाँको मार्गदर्शन र नेतृत्वमा क्लबमा सामुहिक भावनालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा काठमाडौं रेजर्स क्लबधनी तथा एमएडब्लु ग्रुपमा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नेपाली फुटबलको विकास र विस्तारमा यामाहा नेपालको विगत लामो समयदेखि साथ रहँदै आएको बताए ।
‘हामी शहिद स्मारक लिगमा धेरै सिजन आवद्ध रह्यौं । हामीलाई विश्वास छ राम्रो पूर्वाधार र प्रतिबद्धता भएमा नेपाली फुटबलले अभुतपूर्व फड्को मार्नेछ र यसको फ्यान र फलोअर पनि बढ्नेछ,’ उनले भने, ‘नेपाल सुपर लिग नेपाली फुटबलको विकास गर्ने नयाँ कन्सेप्ट हो जसले खेलाडीहरुलाई पनि एक्सपोज हुने धेरै अवसर दिन्छ । यामाहाले काठमाडौं रेजर्सलाई अगाडी ल्याएर फुटबलको यो महामेलामा सहभागिता जनाउँदैछौं । क्लबको मार्की प्लेयरका रुपमा विकेश कुथु र कोचका रुपमा बाल गोपाल महर्जनलाई पाउनु असाधारण कुरा हो ।’
नेपाली बजारमा स्पोर्टी स्कुटरको छवि बनाउन सफल यामाहाको रे जेडआर १२५ एफआई यो लिगको लागि ‘पर्फेक्ट फिट’ हुने अपेक्षा एमएडब्लु ग्रुप र यामाहा नेपालले लिएको छ ।