रुसको साइबेरियामा रहेको एक शहरमा एउटा खैरो भालुले फोनमा कुरा गरिरहेका मानिसलाई सडकै सडक खेदाएको भिडियो सार्वजनिक भएको छ ।
पश्चिमी साइबेरियाको निझ्नेभारतोव्स्क शहरमा बुधवार यो अनौठो घटना भएको हो ।
एकाबिहानै उक्त खैरो भालु व्यस्त शहरका सडकमा घुमेको देख्दा मानिस छक्क परेका थिए । नजिकै कुनै जंगल पनि छैन अनि शहर पनि निकै ठूलो छ तैपनि भालु कसरी आइपुगेको होला भनी मानिस अचम्ममा परेका हुन् ।
फोनमा कुरा गरिरहेका व्यक्ति देखेर भालु विचलित हुन्छ र उसतर्फ दौडन्छ । व्यक्ति भाग्छ अनि भालुले लखेट्छ । त्यसपछि व्यक्तिले दिमाग लगाएर सडक पार गर्छ अनि भालु आइरहेको बसमा ठोकिन्छ ।
गाडीसँग ठोकिएपनि भालुलाई खासै चोट लागेको थिएन किनकि चालकले समयमै ब्रेक लगाइदिएको थियो । त्यसपछि पशुनियन्त्रकहरू आएर भालुलाई बेहोश बनाउने सुई लगाए अनि त्यहाँबाट अन्तै लगे ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, त्यो भालु जंगली थिएन बरू त्यसलाई नजिकैको होटलवालाले पालेको थियो । त्यही होटलमा अर्को भालु पनि भेटियो ।
प्रहरीले भालु कसरी भाग्यो र भालु वैध तरिकाले राखिएको हो कि हैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।