२६ असार २०८३, शुक्रबार

राज्यले चाहेर मात्र जातीय छुवाछुत अन्त्य हुन्न– कानून मन्त्री श्रेष्ठ

राज्यले चाहेर मात्र जातीय छुवाछुत अन्त्य हुन्न– कानून मन्त्री श्रेष्ठ
फाइल फोटो

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि पीडकलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका हुन् ।

जातीय छुवाछुत र विभेद अन्त्यका लागि सबै राजनीतिक दल, समाज, संघसंस्थाहरूको प्रयास हुनुपर्ने उनको भनाइ छ ।

देशमा कानूनको अभाव नभएपनि कानूनको कार्यान्वन पक्ष फितलो हुनाले समस्या रहेको उनले बताए ।

श्रेष्ठले भने– ‘हामीले, राज्यले दण्डित गरेर मात्रै सम्भव हुँदैन । यसलाई सबै राजनीतिक दल, समाज, सामाजिक संघसंस्थाहरू, मानव अधिकारकर्मीहरूले सबैभन्दा पहिले आफूबाट शुरू गर्नुपर्छ व्यवहारमा । सबै राजनीतिक दल लगायत सबै संघसंस्था, समाजले यसलाई प्रभावकारीताका साथ अगाडी बढ्नुपर्छ । यसलाई कसरी न्युनिकरण गर्ने, कानूनलाई कार्यान्वयन कसरी गर्ने, यसमा हामीले ध्यान दिनु जरुरी छ ।’

मन्त्री श्रेष्ठले जातीय छुवाछुतका पीडकको संरक्षणमा नेताहरु नै लाग्ने गरेको पनि उनको भनाइ छ । जातीय विभेद रोक्न राजनीतिक दलहरू प्रतिवद्धताका साथ लाग्नुपर्ने उनले बताए ।

विभेद अन्त्य गर्न अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

उनले भने– ‘हामी राजनीति गर्ने व्यक्ति हौँ । हामीले नै त्यसमा बचाउन खोज्छौं । सामाजिक अपराधहरू जति छ हरेक कुरामा । त्यसकारणले हामी आफैंलाई जिम्मेवार ठानेर यसलाई कसरी न्यूनीकरण गर्ने सबै राजनीतिक दलहरू प्रतिबद्धताका साथ यसमा लाग्नुपर्छ र यसलाई हामीले जनचेतनाको रूपमा पनि यसलाई कार्यान्वयन गर्नुपर्छ । अभियानको रूपमा लिएर जानुपर्छ यसलाई स्थानीय तहले, प्रदेश सरकारले, संघीय सरकारले । वर्तमान कानूनको अवस्थाबारे पनि तल्लो लेभलसम्म जानकारी गराउनुपर्ने आवश्यकता छ ।’

अधिवक्ता राजुप्रसाद चापागाईंले जातीय विभेद उन्मुलनका लागि राजनीतिक इच्छाशक्तिको खाँचो रहेको बताए ।

कानून मात्रै विभेद अन्त्यको औषधी नभएकाले अपराधको रोकथाम, नियन्त्रण र सामाजिक जागरणको आवश्यकता रहेको उनको भनाइ छ । ऐनको संशोधन जरुरी रहेको पनि उनले बताए ।

उनले भने– ‘समाजमा जातीय विभेदविरुद्ध हतोत्साहको वातावरण सिर्जना गर्न कानूनलाई प्रमुख हतियारको रुपमा प्रयोग गर्ने कुरा राज्यका निकायहरुको प्राथमिकताको विषय बन्नुपर्दछ । जातीय विभेद उन्मुलनका लागि राजनीतिक इच्छाशक्तिको खाँचो पर्छ । दण्डात्मक कानून मात्रै औषधी होइन । उन्मुलनको लक्ष्य नजिक पुग्नका लागि अपराधको रोकथाम, नियन्त्रण, सामाजिक जागरणको प्रयास आवश्यक छ । ऐनको संशोधन जरुरी छ ।’

अधिवक्ता श्याम विश्वकर्माले दलित समुदायमाथिको विभेद कायम रहेको भन्दै पर्याप्त कानून नभएको बताए ।

जातीय विभेदको घटनामा प्रहरीले जाहेरी नलिने तथा अदालतले पक्राउ पूर्जी जारी नगर्ने समस्या रहेको पनि उनको भनाइ छ ।

उनले भने– ‘जाहेरी पुलिसले लिँदैन । अहिले अदालतले पक्राउ अनुमति दिन छोडेको छ । अरु सबै मुद्धामा लिन्छ तर जातीय छुवाछुत तथा भेदभावको मुद्धामा लिँदैन ।’

अधिवक्ता विश्वकर्माले जातीय भेदभाव गर्नेहरु लाई प्रभावकारी कारबाही हुन नसकेको बताए । जातीय छुवाछुत सम्बन्धी ऐन र कानूनलाई नजर अन्दाज गरिने गरेको पनि उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्