
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आवश्यकपर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्रीले भने, “निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् । रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस् । औद्योगिक वातावरणका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न तयारी छु ।” उनले देश विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारका लागि आफू तयार रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री ओलीले रोजगारी र निर्यातमूलक उद्योग स्थापना गर्न आग्रह गरे ।
अत्यावश्यक कच्चा पदार्थ मात्रै विदेशबाट ल्याउन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल कुनै पनि हालतमा गरिब हुन नसक्ने उल्लेख गरे।
कोरोनाको महामारी नभएको भए पर्यटन तथा सेवा क्षेत्रमा देखिने गरी केही न केही परिवर्तन भइसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।
देशभित्रै सवारी साधन निर्माणको उद्योग खोल्न आग्रह गर्दै प्रधानमन्त्रीले सरकारले त्यस्ता उद्योगका लागि सहुलियत दिने प्रतिबद्धता व्यक्त गरे ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले चालु आवको बजेट र मौद्रिक नीतिले सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तङ्ग्रिन सहज भएको बताए ।
बिहीबारसम्ममा लक्ष्यको ५८ प्रतिशत राजश्व उठेको भन्दै उनले चालु आवमा सरकारी लक्ष्यअनुसार नै राजश्व उठ्ने विश्वास व्यक्त गरे।
गत वर्षको सात महिनामा र यस वर्षको सोही अवधिमा पनि आठ खर्बको आयात भएको विवरण पेश गर्दै उनले विप्रेषण १० र निर्यात ८ प्रतिशतले बढेकामा खुशी व्यक्त गरे ।