
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने दिशामा सक्रिय हुन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार व्यवसायीका अधिकांश संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यवसायीलाई आमन्त्रण गरेरै यो दिशामा सहकार्यका लागि आह्वान गरे ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा आयोजना गरिएको विशेष भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी उद्यमशीलता प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सबल बनाउन सरकारले हरतरहले सहयोग गर्न तयार रहेको बताए ।
कोरोना भाइरस समस्या हुँदाहुँदै पनि वर्तमान सरकारले पूर्वाधार स्वास्थ्य, शिक्षालगायत विकासका क्षेत्रमा फड्को मारेको उनले बताउनुभएको थियो । “विभिन्न क्षेत्रमा नयाँ ढङ्गले प्रवेश गरेका छौँ । पूर्वाधार शिक्षा, स्वास्थ्य उद्योग लगायतका क्षेत्रका विकासमा विगत तीन वर्षमा अभूतपूर्व काम भएका छन् । शिक्षा स्वास्थ्य सबै क्षेत्रमा भएको छ,” उनले थपे– “हामीले इतिहास झल्कने र आधुनिकता टल्कने विकास गर्दैछाँै ।”
नेपाल गरिब हुनै नसक्ने र हुनै नपर्ने देश भए पनि विगतका शासकका कारण गरिब हुनुपरेको र त्यो अवस्था अन्त्य गर्न वर्तमान सरकार क्रियाशील रहेको उनले औँल्याए । “नेपाल गरिब हुनै नपर्ने देश गरिब छ । गरिब हुनै नसक्ने देश हो,” उनले भने, “विगतमा जनतालाई सरकारले विकासमा मार्गदर्शन गर्न नसकेर यस्तो भयो, विगतका शासकले विभिन्न क्षेत्रका नीतिमा र व्यवहारमा रहेका त्रुटिले गर्दा देशले विकास र समृद्धि हासिल गर्न सकेन । अब त्यो स्थितिलाई सम्पूर्ण रूपमा बदल्ने र देशको परिचय आर्थिक परिचय फेर्ने अभियानमा छाँै ।”
नेपाल अतिकम विकसितबाट स्तरोन्नति हुने अवस्थामा आएको भन्दै उनले आर्थिक, सामाजिक र मानवीय लगायतका क्षेत्रमा परिवर्तन हुने आँैल्याउए । “उद्योग मात्र, पर्यटन मात्र बिजुली प्रशस्त मात्र भन्ने नभएर समग्र रूपमा समग्रको परिवर्तन सुधार गर्दै आएका छाँै । सर्वे भवन्तु सुखिनः मा भनिए जस्तै हामी समग्रतामा नेपालीलाई सुखी बनाउने हो । न्यायोचित आवश्यकता पूरा गराएर सुखी र समृद्ध नेपाली बनाउने हो”– उनले भने ।
वर्तमान सरकार व्यवसायीका समस्याप्रति सचेत रहेको र व्यवसायीले राखेका गुनासा पूर्णरूपमा सम्बोधन गर्ने उनले स्पष्ट पारे। आफू नेतृत्वको सरकार बनेपछि सडकमा बालबालिका अलपत्र पर्ने, भोकै रहने, सडक मानव देखिने अवस्था अन्त्य गर्न सकिएको उनले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशी उद्यामशीलता प्रवद्र्धन गर्ने दिशामा केन्द्रित हुने व्यवसायीलाई विशेष आग्रह गरे । “हामी व्यापार घाटाको अवस्थामा छाँै, अब विदेशबाट किनेर लाउने अवस्था अन्त्य गर्ने योजना ल्याउनैपर्छ” उनले भने– ‘‘तपाईंहरू उद्योगमा लगानी गर्न तयार हुनुस्, सरकारले सोचेको भन्दा धेरै सहयोग गर्नेछ ।” ‘‘उत्पादन दिनेखालका र निर्यातमूलक उद्योग स्थापना गर्नुस्, केके कानुन बनाउनुपर्छ, हामी बनाउँछौँ । जरुरी परे अध्यादेश नै ल्याइन्छ,” उनले स्पष्ट पार्नुभयो । स्वच्छ ऊर्जा आवश्यक भएको बताउँदै उनले भने, ‘‘प्रदूषण कम गराँै, स्वस्छ ऊर्जातिर जाआँै । आयातित इन्धन प्रतिस्थापन गर्न स्वदेशी बिजुली प्रयोग गरौँ । सरकारले मागेजति बिजुली दिनेछ ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, पूर्वअध्यक्ष तथा पदाधिकारीहरू, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल मारवाडी परिषद्, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनलगायत विभिन्न संस्थाका पदाधिकारीलाई आमन्त्रण गरिएको थियो । उपस्थित व्यवसायीले कर प्रणाली, प्रशासनिक झमेला औद्योगिक पूर्वाधारको अभाव लगायत आफूले भोगेका समस्या र समाधानसमेत सुझाएका थिए । प्रधानमन्त्री ओलीले सबैका गुनासा तथा समस्यालाई गम्भीरतापूर्वक मनन गरेर वास्तविक समस्याको तत्काल समाधान निकालिने आश्वासन दिए। गोरखापत्र दैनिकमा खबर छ ।