
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै नरहेको बताएका छन् ।
अविश्वासको प्रस्ताव आउने भए प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै आइसक्ने उनको विश्लेषण छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत नदेखिएको टिप्पणी गरे ।
‘यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन, अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत देखिएको पनि छैन । ल्याउने भए पुनःस्थापना भएसँगै ल्याउँथ्यो, अब त्यो सम्भावना छैन,’ ओलीले भने ।
वामदेव गौतम समेत उपस्थित रहेको संसदीय दलको बैठकमा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूह एमाले विभाजनमा लागेको आरोप लगाए । कार्यकर्ता भेलाको नाममा पार्टीहित विपरीत काम गर्नेहरूले माफी माग्नुपर्ने ओलीले बताए ।
उनले पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुने बताएका छन् । छुट्टै भेला गरिरहेका अगुवाकर्ताहरूलाई कारबाही गरेर जानुको विकल्प नरहेको ओलीले बताए । ‘त्यसका लागि विधि र पद्धति बनाउने आधार तयार गर्दैछौं,’ उनले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । उहाँहरूका गतिविधि कारबाहीका भागिदार हुनुहुन्छ ।’
बैठकमा प्रभावशाली नेता वामदेव गौतमलाई एकताको कुरा छाड्न ओलीले आग्रह गरेका छन् । ओलीले गौतमलाई लक्षित गर्दै एकता–एकता भनेर पछि नलाग्न आग्रह गरे ।
‘नेकपादेखि एमालेसम्म तपाईं एकता–एकता भन्दै हिँड्नुभएको छ । एकता कसले नचाहेको छ ? बुझ्नुभयो होला नि !’ अध्यक्ष ओलीले बैठकमा भने, ‘अब पनि यसै भन्नुहुन्छ कि छाड्नुहुन्छ ? एकता–एकता भनेर पछि नलाग्नुस् । उहाँहरू एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ ? त्यसतर्फ लागौं ।’