२४ असार २०८३, बुधबार

केपी ओलीलाई माधव नेपालको प्रस्ताव : पुराना कुरा बिर्सन तयार छौं, नयाँ ढंगले अगाडि बढौं

केपी ओलीलाई माधव नेपालको प्रस्ताव : पुराना कुरा बिर्सन तयार छौं, नयाँ ढंगले अगाडि बढौं

नेकपा एमालेका नेता माधवकुमार नेपालले पुराना कुरा बिर्सन तयार रहेको भन्दै नयाँ ढंगले अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।

उनले आफूहरू पार्टीभित्र सही कुराको लागि लडिरहेको भए पनि एकताको हात बढाउन तयार रहेको बताए ।

आफूपक्षीय युवा संघको भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले ओलीले २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्किन तयार भए आफूहरू नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताए ।

‘१२ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ रे, नवौं मात्र बसेको थाहा छ । १० औं र ११ औं बैठक खै ? बीचका २ वटा बैठक नभई तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जाँदैनौं, हामी स्वाभिमानी व्यक्ति हौं,’ युवा भेलामा नेता नेपालले भने, ‘पुराना कुरा बिर्सन तयार छौं । फ्रेस स्टार्ट गरौं, यो मेरो प्रस्ताव हो । नयाँ ढंगले अगाडि बढौं । केपी कमरेड २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्कनुस् ।’ 

नेता नेपालले आफूहरूको सहमतिबेगर झलनाथ खनाल र आफूलाई संसदीय बोर्डमा राखिएको भन्दै त्यो मान्य नहुने बताए । आज पनि सांसदहरू बसेर विधिसम्मत ढंगले संसदीय दलको कार्यालयमा बैठक राख्न आग्रह गरिएको नेता नेपालले बताए ।

‘निजी निवासमा राखिएका त्यस्ता बैठक मान्दैनौं, संसदीय दलको कार्यालयमा बैठक बोलाएमा हाम्रा कुरा त्यहाँ राख्छौं । हामी एकताको हात बढाउन चाहन्छौं,’ नेपालले भने, ‘पार्टीभित्र सही कुराको लागि लडिरहेका छौं, राम्रो पार्टी निर्माणका लागि लडिरहेका छौं ।’ 

बालुवाटारमा संसदीय दलको बैठक चलिरहेको समयमा नेता नेपाल राष्ट्रिय सभागृहमा आयोजित युवाको भेलामा सहभागी थिए । बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला गर्ने नेतालाई संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्