२८ जेठ २०८३, बिहीबार

एमालेमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष ओली हुन् : माधव नेपाल

एमालेमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष ओली हुन् : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूले गरेको बताएका छन् ।

एमालेको नेपाल–खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिला लागेको र आफूले खिया फाल्ने प्रयास गरिरहेको बताए ।

पूर्ववत रूपमा रहेका पार्टीका सबै संरचनाको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भइरहेको उनले बताए ।

‘३ वर्षसम्म सबैतिर खिया लागेको थियो । खियालाई हामी बिस्तारै हटाउँदैछौं । फेरि हामी दाँत माझ्दैछौं । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौं । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहित बनाउँदैछौं । झण्डै–झण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई टुथपेस्टले क्लीयर पारेर सफा र स्वच्छ वायुको साथ–साथ प्राण वायु अनि फ्रेस अक्सिजन भरिन्छ, फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? मार्क्सवादको विचार हो । जसरी शरीरमा अक्सिजन चाहिन्छ, त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले ऊर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्छ,’ उनले भने ।

उनले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वौच्च अदालतले फैसला गर्नु भनेको ‘जन्मेको बच्चा मान्दैनौं फेरि गर्भमा लैजाऊ’ भने जस्तै भएको टिप्पणी गरे ।

‘सर्वोच्च अदालतले फैसला गरेछ, २ वटा पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको भएतापनि त्यो चाहिँ हामी मान्दैनौं तिमीहरू पुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ । यो जन्मेको बच्चा मान्दैनौं, फेरि गर्भमा लैजाऊ भने जस्तै फैसला हो । बच्चा जन्मिइसकेको छ । नयाँ संगठन अस्तित्वमा आइसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भएतापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौं भन्न मिलेन । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौं भन्ने । त्यो फैसलामा बहस फैसला त गर्दै गरौंला तर हामी निर्णय मान्न बाध्य छौं,’ उनले भने ।

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याऊँ भन्ने आफूहरूको प्रस्ताव ओलीले नमानेको दाबी गरे ।

‘पूर्व एमाले ब्युँतनुको अर्थ के हो भने पूर्व एमालेमा केपी ओली पनि आउनुपर्‍यो । हामी पनि त्यही ठाउँमा पुग्नुपर्‍यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रस्ट हुनुपर्‍यो । पूर्व एमाले ब्युँतनु भनेको पुरानो संगठन फेरि ब्युँताउने हो । आज पार्टीभित्र विवाद भइरहेको कुरा त्यही छ । पूर्व एमाले ब्युँतिइसकेपछि कहिले कहाँ कुन मितिमा शुरू हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न ।’

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने बताउँदै उनले किसान संघ, उत्पीडित समुदाय लगायतको राष्ट्रिय भेला गरी पुनर्जीवन र पुनर्ताजगी दिने बताए । उनले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने बताए ।

पार्टीको सुदृढीकरण र विस्तारका लागि धेरैभन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘हामी सानो चित्तका छैनौं । मन सानो छैन । चित्त सानो छैन । सबैलाई समावेश गर्ने गरी हामी जानेछौं । त्यसैले धेरैभन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्नुहोस्,’ उनले भने । पार्टीको अवस्था देखेर झोक्र्याएर नबस्न उनले युवाहरूलाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्