
काठमाडौँ, १० जेठ - ललितपुर महानगरपालिकाको पहिलो जननिर्वाचित मेयर बन्ने सौभाग्य पाएका चिरिबाबु महर्जनको जन्म १६ मंसिर ०१४ सालमा ललितपुरको पुल्चोकमा भएको हो, नयाँ पत्रिकामा खबर छ ।
त्रिभुनव विश्वविद्यालयबाट एमकम उत्तीर्ण चिरिबाबु ललितपुरका जनताबीच कति लोकप्रिय छन् भन्ने कुरा उनी यसअघि ललितपुर नगर र उपमहानगरमा तीनपटकसम्म निर्वाचित वडा अध्यक्ष थिए भन्ने तथ्यले पुष्टि गर्छ ।
पहिले पार्टीले टिकट दिएर र त्यसपछि जनताले निर्वाचित गरेर उनको काँधमा महानगरपालिकाको ठूलो भारी हालिदिएका छन् । तर, उनी यो भारीलाई जिम्मेवारीबोधसहित पूरा गर्ने बताउँछन् । उनले महानगरपालिकाभित्र बढ्दै गएको भ्रष्टाचार, अनियमितता कम गर्ने, महानगरबासीलाई सेवा प्रवाह गर्ने काममा हुने ढिलासुस्ती अन्त्य गरेर सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महानगरभित्र समस्या बन्दै गएको धुँवा, धुलो, प्रदुषण न्युनिकरण देखि, गोरखा भूकम्पले भत्काएका लतिललपुरका ऐतिहासिक, सांस्कृतिक सम्पदाको पुरानै स्वरुपमा पुनर्निर्माणका योजनासम्म उनले बनाएका छन् ।