२५ जेठ २०८३, सोमबार

नेपालका रेल आयोजनाको नालिबेली: पूर्व-पश्चिम रेलको काम अघि बढ्दा कहाँ पुग्यो केरुङ-काठमाडौं ?

चैत ८, २०७७
नेपालका रेल आयोजनाको नालिबेली: पूर्व-पश्चिम रेलको काम अघि बढ्दा कहाँ पुग्यो केरुङ-काठमाडौं ?

रेल विभागले नेपालमा झन्डै १५ सय किलोमिटर रेल सञ्जाल निर्माणका लागि काम भइरहेको जनाएको छ, जसमध्ये ३५ किलोमिटर (जनकपुर-जयनगर रेलमार्ग) निर्माण सम्पन्न भएर रेल सञ्चालनको तयारीमा छ भने जनकपुर-बर्दिवाससम्मको कुल ३४ किलोमिटरमा रेलमार्ग निर्माण जारी छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेलमार्ग निर्माण भएर आगामी वैशाख ८ देखि रेल सञ्चालनको तयारी भइरहेको हो । दोस्रो चरणमा जनकपुरको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर रेलमार्ग निर्माणको काम सकिन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए।

तेस्रो चरणमा बिजलपुरादेखि महोत्तरीकै बर्दिवाससम्म १७ किलोमिटरमा भने जग्गा अधिग्रहणको काममा समस्या भएकाले निर्माणको कामले गति लिन नसकेको चित्रकारले बताए ।

त्यसबाहेक भारत सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जोगवनीदेखि विराटनगर सम्मको १८ किलोमिटरमा समेत रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

भारततर्फ ५ किलोमिटर र नेपालतर्फ १३ किलोमिटर पर्ने उक्त खण्डमा भारतको ५ किलोमिटर र नेपालतर्फको ३ किलोमिटर गरी कुल ८ किलोमिटरमा ट्रयाक ओछ्याउने काम सम्पन्न भइसकेको छ ।

बाँकी १० किलोमिटरको काम पनि तीव्र गतिमा अगाडि बढेको चित्रकारले बताए ।    

केरुङ-काठमाडौं रेलमार्ग लागि सर्वेक्षण

चीनको केरुङदेखि काठमाडौंसम्म सञ्चालन गर्ने भनिएको रेल मार्गका लागि सम्भाव्यता अध्ययन भइरहेको विभागले जनाएको छ ।

रसुवास्थित चीनको सीमाबाट काठमाडौंसम्म ७२ किलोमिटर रेलमार्ग निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन 'प्री-फिजिबिलिटी स्टडी'को काम कोभिडका कारण केही समय रोकिएको भएपनि अहिले अगाडि बढेको छ। कोभिड महामारीका कारण भौतिक रूपले उपस्थित भएर सर्वेक्षण नगरेपनि चिनियाँ पक्षले विभिन्न प्रविधिको सहयोगबाट सम्भाव्यता अध्ययनको कामलाई निरन्तरता दिएको छ।

'रिमोर्ट सेन्सिङ, स्याटेलाइटलगायत अन्य प्रविधिको प्रयोग गरेर चिनियाँ पक्षले सम्भाव्यता अध्ययनको काम अगाडि बढाएको जानकारी हामीलाई प्राप्त भएको छ,' रेल विभागका प्रवक्ता चित्रकारले लोकान्तरसँग भने, 'गत नोभेम्बरमा नेपाल तथा चीनबीच भएको अनलाइन बैठकबाट उक्त जानकारी नेपाली पक्षलाई गराइएको थियो।'

केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन सम्झौतामा हस्ताक्षर गर्ने तयारी समेत भइरहेको चित्रकारले बताए ।

चीनको सिगात्से-केरुङ रेलमार्ग निर्माण सम्पन्न भएपछि नेपाल तर्फको रेलमार्ग निर्माण हुने उनले बताए । 'चीनको सिगात्सेदेखि पश्चिमतर्फ नेपालको केरुङ नाकासम्म चीनको भू-भागमा समेत रेल सञ्जाल निर्माण गर्नुपर्ने हुन्छ,' उनले थपे, 'त्यसपछि केरुङदेखि काठमाडौंसम्म ७२ किलोमिटरमा रेलमार्ग निर्माण हुनेछ।'

चीनले छिंहाई, ल्हासा जस्ता कठीन भू-बनौट भएका ठाउँमा समेत रेलको पूर्वाधार बनाएर रेल सञ्चालन गर्न सफल भएको हुनाले नेपालमा समेत केरुङदेखि काठमाडौंसम्म रेलको पूर्वाधार बनाउन सकिने सम्भावना देखेर अध्ययन तथा सर्वेक्षण गरिएको हो।

काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन

सन् २०१२ मा कोरियन कन्सल्ट्यान्टले काठमाडौं उपत्यकाभित्र मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो। त्यस अध्ययनमा ७७ किलोमिटरमा कुल ५ वटा लाइन पहिचान गरिएको थियो। लाइन १, २ र ३ गरी कुल तीनवटा लाइन जमिनमाथि 'ओभर ग्राउण्ड' र लाइन ४ र ५ गरी दुईवटा लाईन जमिन मुनि 'अन्डर ग्राउण्ड' रेल लाइन पहिचान गरिएको थियो।

त्यसअन्तर्गत लाइन १ खण्डको विस्तृत सम्भाव्यता अध्ययनको काम जारी छ। सातदोबाटोदेखि रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्म कुल १२.५ किलोमिटरसम्मका लागि चिनियाँ कन्सल्टेन्टले काम गरिरहेको छ। १ महिनादेखि शुरू गरिएको उक्त अध्ययनको काम १ वर्षभित्रमा सम्पन्न गर्नुपर्ने हुन्छ ।

लाइन २ अन्तर्गत कलंकीबाट शुरू भएर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर हुँदै सिनामंगलसम्म ८.५ किलोमिटर रुट तय गरिएको छ। लाइन ३ अन्तर्गत रिङरोडको सबै क्षेत्रमा २७ किलोमिटर पहिचान गरिएको छ।

जमिन मुनि मेट्रो रेल सञ्चालनका लागि लाइन ४ अन्तर्गत स्वयम्भुबाट बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर हुँदै चावहिलसम्म ७.५ किलोमिटर रुट पहिचान गरिएको छ। लाइन ५ अन्तर्गत गोंगबुदेखि नारायणहिटी, डिल्लीबजार, नक्साल, सिंहदरबार, माइतीघर, पाटन हुँदै धोबीघाट सम्म १३ किलोमिटरको रुट पहिचान गरिएको छ। रेल विभागका प्रवक्ता चित्रकारका अनुसार लाइन १ को विस्तृत सम्भाव्यता अध्ययनको काम शुरू भए पनि बाँकी चारवटा लाइनको कुनै पनि काम हालसम्म अगाडि बढेको छैन ।

पूर्व पश्चिम विद्युतीय रेलमार्ग: कतै निर्माणाधीन, कतै ठेक्का व्यवस्थापनको तयारी

नेपाल सरकारले ५ खर्ब ६५ अर्ब ६ करोड ३७ लाख ९२ हजार ८२ रूपैयाँको लागतमा १० वटा छुट्टाछुटै खण्डको कुल १ हजार ८ किलोमिटर दूरीमा मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्ने तयारी गरेको छ ।

झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवा खण्डको १ सय २६ किलोमिटर दुरीमा ८० अर्ब ७५ करोड ३६ लाख ५६ हजार २ सय ३९ रूपैयाँको लागतमा रेल निर्माण भइरहेको छ।

उक्त खण्डमा डीपीआर समेत सम्पन्न भएर ठेक्का व्यवस्थापनको तयारी अगाडि बढेको छ। उक्त खण्डभित्र सुनसरीको इटहरीदेखि मोरङको विराटनगरसम्म २० किलोमिटरमा अर्को लिंकलाइन समेत तयार हुँदैछ।

त्यसैगरी सुनसरीको इनरुवादेखि महोत्तरीको बर्दिवास खण्डको १ सय ३९ किलोमिटरमा रेलमार्ग निर्माण गर्न डीपीआर तयार भइसकेको छ । त्यसबाहेक उक्त खण्डमा जग्गा अधिग्रहण गर्नुपर्ने जग्गाधनीको यकिन विवरण तयार गरेर फाइल समेत खडा गरिसकिएको छ। केही दिनभित्रै उक्त खण्डमा जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिनेछ।

महोत्तरीको बर्दिवासदेखि बाराको निजगढसम्मको ७० किलोमिटरमा रेलको पूर्वाधार निर्माणाधीन अवस्थामा छ।

उक्त खण्डमा रेल्वे ट्रयाकका लागि बेड बनाउने काम तथा पुलहरू निर्माणको काम थालिसकिएको प्रवक्ता चित्रकारले बताए।

'बर्दिवासदेखि निजगढ खण्डको ४० किलोमिटर ट्रयाक निर्माणका लागि आधारभूत काम सम्पन्न भइसकेको छ,' उनले थपे, 'त्यसैगरी उक्त खण्डमा पर्ने कुल १५ वटा पुलमध्ये एउटा मात्र पुल बनेको छ भने यही असारभित्रमा ३ वटा पुल निर्माण सम्पन्न हुनेछन् ।' आगामी डेढ वर्षभित्रमा ती सबै काम सम्पन्न हुनेछन् ।

त्यसैगरी निजगढदेखि अमरापुरी खण्डको १ सय ३६ किलोमिटरमा समेत डीपीआर तयार भएको छ। ९१ अर्ब ७ करोड ७७ लाख ४४ हजार ८ सय ७८ रूपैयाँको लागतमा उक्त खण्ड निर्माण हुनेछ। अमरापुरीदेखि तमसरिया खण्डको २९ किलोमिटरमा १४ अर्ब ४१ करोड १२ लाख २९ हजार ११४ रूपैयाँको लागतमा निर्माण हुने रेलमार्गको डीपीआर तयार भएको छ।

तमसरियादेखि बुटवल १०७ किलोमिटर खण्डमा ४१ अर्ब २१ करोड २० लाख ८१ हजार ७४ रूपैयाँ लागत लाग्नेछ। उक्त खण्डको पनि डीपीआर तयार भएको छ। उक्त खण्डमा बुटवलदेखि भैरहवा हुँदै लुम्बिनीसम्म ३९ किलोमिटरको अर्को लिंक लाइन समेत बन्दैछ।

बुटवलदेखि लमही खण्डको १०५ किलोमिटर रेलमार्गका लागि ५९ अर्ब २१ लाख १९ हजार ४७९ रूपैयाँ लागत लाग्ने अनुमान छ ।

लमहीदेखि कोहलपुर खण्डको १ सय १३ किलोमिटर रेलमार्गमा ६७ अर्ब ३७ करोड ५२ लाख ६६ हजार ४४१ रूपैयाँको लागत लाग्नेछ।

कोहलपुरदेखि सुक्खड खण्डमा ९३ किलोमिटरसम्म ५० अर्ब ८२ करोड ६६ लाख ४६ हजार १९१ रूपैयाँको लागतमा रेल निर्माण हुनेछ।

सुक्खडदेखि गड्डाचौकीसम्मको ८९ किलोमिटरमा ४५ अर्ब ८८ करोड ४८ लाख २९ हजार ७५३ रूपैयाँ लागत अनुमान छ ।

रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर हुने

भारत सरकारले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको भारतको रक्सौलदेखि काठमाडौंसम्म १ सय ३६ किलोमिटर दूरीको रेलमार्ग निर्माणका लागि डीपीआर गर्ने तयारी भइरहेको छ।

रेल विभागका प्रवक्ता चित्रकारका अनुसार उक्त खण्डको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्नका लागि भारत सरकारसँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्