०२ असार २०८३, मंगलबार

क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान

चैत ९, २०७७
क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिए।

हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ । यसका साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने उनको भनाइ छ ।

स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने उहाँले जानकारी दिनुभयो । वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले विद्यार्थीको केही महिना क्षति भएको उनको भनाइ छ ।

विश्वविद्यालयले फागुनमा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही महिना कुर्नुपर्ने स्थिति देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महिनामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भदौसम्म कक्षा १२ को नतिजा प्रकाशित गरी उनीहरूलाई स्नातक तहको अध्ययनको बाटो खुल्ने बताए ।

तर विश्वविद्यालयको हालको योजनामा कुनै परिवर्तन नगरे विद्यार्थीले स्नातक तहमा भर्ना हुन केही महिना कुर्नुपर्ने अवस्था देखिएको छ । भदौमा स्नातक तहको नतिजा आएका विद्यार्थी पाँच महिना कुरेपछि मात्र बल्ल भर्ना हुने पाउनेछन् ।

त्रिविका शिक्षाध्यक्ष भुसालले फागुनलाई शैक्षिक सत्र मानिए पनि नयाँ परिस्थिति विकास भएमा स्नातक तहको शैक्षिक सत्र मङ्सिरमा समेत सार्न सकिने विकल्पसमेत रहेको बताए। यसमा परिस्थितिअनुसार निर्णय लिन सकिने जनाइएको छ । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्