
जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न देशहरूले परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्छन् । झन् भारतमा धेरै जनसंख्या छ ।
तर भारतकै एक मुख्यमन्त्री जतिधेरै बच्चा भए, त्यतिधेरै चामल मिल्ने अभिव्यक्ति दिएका छन् ।
हालै पदभार ग्रहण गरेका भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले कोरोना भाइरस संक्रमणको महामारीका बेला सरकारले घरघरमा चामल पुर्याएको र धेरै चामल चाहनेहरूले २० बच्चा जन्माउनुपर्ने अभिव्यक्ति दिए ।
मुख्यमन्त्री रावतको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विवाद सिर्जना भएको छ । मुख्यमन्त्री रावत यसअघि समेत विभिन्न अभिव्यक्तिका कारण विवादमा परेका थिए ।
उत्तराखण्ड राज्यको रामनगरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हरेक घरमा ५ किलो अन्न दिइयो । जसका १० थिए, तिनलाई ५० किलो, २० हुनेलाई त क्वीन्टलसम्म अन्न दिइएको छ । कसैलाई रिस हुन थाल्यो कि २ हुनेलाई १० किलो र २० हुनेलाई क्वीन्टलसम्म मिल्यो । यसमा रिस किन ? जब समय थियो, त्यतिबेला २ मात्रै किन जन्माए, २० किन जन्माएनन् ?’
कोरोनाको लकडाउनका बेला भारत सरकारले पीएम गरीब कल्याण योजना अन्तर्गत प्रतिव्यक्ति ५ किलो चामल र १ किलो दाल वितरण गरेको थियो । यसै सन्दर्भमा धेरै बच्चा हुनेलाई धेरै अन्न दिइएकोबारे बोल्दै मुख्यमन्त्री रावतले विवादित बयान दिएका हुन् ।