
नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ ।
जागरण अभियान अन्तर्गत सोमवार राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्यसचिव भूमिराम शर्मासँग परिसंघको कार्यालयमा छलफल भएको छ ।
छलफलको माध्यमबाट नै अभियानलाई व्यापक बनाउने परिसंघको लक्ष्य रहेकोले यसैको निरन्तरता स्वरुप सोमवार कार्यक्रम आयोजना गरेको हो ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस अभियानलाई अगाडी बढाउन यस भन्दा अगाडि गरेका छलफल र शुभारम्भ कार्यक्रमहरुको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउनको लागि विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताए ।
यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पुर्याउने अध्यक्ष मोरको धारणा थियो । नितिगत तहमा रहेका व्यक्तिहरुको सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै अध्यक्ष मोरले उद्योगहीहरु माग्नमात्र आउँछन् भन्ने मानसिकता क्रमशः हट्दै गएको बताए ।
राजश्व परामर्श समितिका अध्यक्ष दाहालले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै राजश्व परामर्श समितिले नीतिगत व्यवस्था र बजेट मार्फत कसरी सहयोग गर्न सकिन्छ त्यस तर्फ पनि विचार पुर्याउने धारणा राखे ।
नीजिक्षेत्रका तर्फबाट आउने राजश्वका कतिपय सुझावहरु स्पष्टरुपमा आउनु पर्ने धारणा राख्दै करको दरभन्दा पनि करको दायरालाई बढावा दिने गरी समितिले आप्mना कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।
निजी क्षेत्रबाट आएका सुझावहरु मनन योग्य भए पनि मूल्य अभिवृद्धि करलाई वहुदरमा लानको लागि यसवर्ष कुनै सोच नभएकोले यसलाई आगामी वर्षहरुमा अगाडी बढाउँदै लैजाने अध्यक्ष दाहालको भनाइ छ ।
अहिलेको अवस्थामा अनलाईन व्यापारलाई कसरी सहज पहिचान गर्न सकिन्छ त्यस तर्फ समिति केन्द्रित रहेको अध्यक्ष दाहालले बताए । समितिले कुनै पनि बेला नेपाल सरकारलाई सुझाव दिनसक्ने भएकोले भन्सार र ननट्क्सका विषयहरुलाई व्यवस्थापन गर्दै लैजानेमा उनो जोड छ ।
परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले परिसंघले अगाडी सारेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको विस्तृत प्रस्तुतिकरण गर्दै औद्योगिकरणको लागि राजश्व नीति सम्बन्धमा छलफल चलाउनु पर्ने सुझाव दिए ।
छलफलमा परिसंघका उपाध्यक्षहरु क्रमशः निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवा र वीरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो ।