
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । ७ विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।
शुल्क वृद्धिविरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । ‘शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्,’ अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले भने, ‘शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गरेका छौं ।’
विद्यार्थीहरूले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गर्नाका साथै विश्वविद्यालयका पदाधिकारीलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् । सवारीसाधनको दुरुपयोग रोक्नका लागि जनाउँदै नियन्त्रणमा लिने कार्य समेत जारी राखेका छन् ।
कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनुपरेको विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीको भनाइ छ । विरोध कार्यक्रमबीच अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् ।
शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरूले २ हप्ता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।