
बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।
उनका अनुसार गोली प्रहारबाट २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोहलपुर पठाइएको छ ।
दुर्घटनाबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । मंगलवार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका छन् । मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदर्शन गरेका छन् ।
प्रहरी निरीक्षक थापाका अनुसार तनाव बढेपछि बल प्रयोग गरिएको छ । ठक्कर दिने बस र बर्दगोरिया गाउँपालिका–१ का चालक ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।