
लोक सेवा आयोगले कर्मचारीको छनोटमा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ ।
आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए ।
मंगलवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए । संघीय संसदमा विचाराधीन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको बताए ।
लोक सेवा आयोग भोलि बुधवारबाट पदाधिकारीविहीन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ गतेबाट पदावधि सकिँदैछ । मंगलवार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहीन हुँदा गम्भीर असर पर्ने अवस्था रहेको बताए ।
तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षाहरू रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने बताए । सरकारी उच्च पदका बढुवाहरू अन्तर्वार्ताहरू सबै रोकिने अवस्था रहेको पनि बताए ।
निजामती प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने विश्वास समेत अध्यक्ष मैनालीले व्यक्त गरे । स्व. सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।