
सरकारले संसदको प्रभावकारिता नचाहेको सांसदहरूले आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसदहरूले सरकारले सदनलाई बिजनेश नदिएर संसदको प्रभावकारिता नचाहेको बताएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदन चलाउने र फलदायी होस् भन्ने नचाहेको बताए । ‘सरकारले संसदलाई बिजनेश दिने र बिजनेश दिँदा अपर हाउस पनि चाहिन्छ, राष्ट्रिय सभा । त्यसको पनि अधिवेशन बोलाउनुपर्यो । विधेयकहरू लिएर आउनुपर्यो । दुवै सदनले पारित गर्ने हो विधेयक । सरकारले नै संसद चलोस् र यो फलदायी होस् भन्न नचाहेको स्थिति छ । सरकारको दायित्व हो विधेयक ल्याउने,’ उनले भने ।
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले संसदलाई विघटन गर्ने गलत दृष्टिकोण राखेकाले संसदको प्रभावकारी सञ्चालनमा ध्यान नपुर्याएको बताइन् । ‘संसदलाई प्रभावकारी गराउने जिम्मा सांसदको होइन, सरकारको हो । हामी त बैठकमा तोकिएको समयमा आएका छौं । तर सरकारले विधेयकहरू नै ल्याउँदैन । बिजनेश नै दिँदैन । कार्यव्यवस्था परामर्श समितिमा बसेर कार्यसूची निर्धारण गर्दैन भने त संसद एक्लैले प्रभावकारी उपस्थिति हुने कुरा भएन । प्रधानमन्त्रीको यो संसदलाई, जनताको प्रतिनिधिमूलक थलोलाई विघटन गर्ने नै छ । उहाँले अहिले पनि एउटा गलत दृष्टिकोण राखिरहनुभएको छ र यसको प्रभावकारी सञ्चालनको कुरामा ध्यान दिनुभएको छैन,’ उनले भनिन् ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विधेयक आउन नसक्नुमा सरकारको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताए । सरकारले बिजनेश पेश गर्दा पनि अगाडि बढ्न नपाएकोे बताए ।
‘प्रतिनिधिसभा पुनःस्थापित भए पनि हामी जुन कारणले यो अप्ठ्यारोमा पर्यौं, त्यो अप्ठ्यारोहरू फुकाउने काम भने सर्वोच्च अदालतले गरेन । त्यो अप्ठ्यारो के हो भन्दा जुन आधारमा सरकार उभिएको छ झण्डै दुईतिहाइ बहुमतको अवस्था । अब त्यो अवस्था त रहेन । सत्तापक्ष माथिदेखि तलसम्मै २ चिरा भयो । त्यसैले त्यो दुईतिहाइ बहुमत अहिलेसम्म विश्वासको मत फिर्ता भएको छैन कायम छ । तर यथार्थमा भने त्यो विभाजित छ । त्यसैले यो स्थितितर्फ ध्यान दिनुपर्छ । सरकारले बिजनेस पेश नगरेको हो र ? सरकारले दिएको बिजनेश त अगाडि बढ्नै पाएन । बढ्नै सकेन ।’
उपनेता नेम्वाङले संसदमा भएको समस्याबारे छलफल गरी निष्कर्षमा पुग्नु राम्रो हुने बताए । समस्यालाई निष्कर्षमा पुर्याउन सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताए ।