०४ असार २०८३, बिहीबार

पठाओको ज्याकेटमा प्रतिबन्ध, सेवा खुलै

चैत ११, २०७७
पठाओको ज्याकेटमा प्रतिबन्ध, सेवा खुलै
प्रतिकात्मक तस्वीर

राइड सेयरिङ प्लेट फर्म पठाओको ज्याकेट लगाएर बाइक तथा ट्याक्सीमा सेवा दिन नपाइने भएको छ । 

शुरूमा पठाओलाई प्रतिबन्ध लगाउनेगरी प्रक्रियाअघि बढाएको ट्राफिक प्रहरीले दबाब खेप्न नसक्ने भएपछि तत्काललाई पठाओ अंकित ज्याकेट लगाएर यात्रु बोकेमा कारबाही गर्ने जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले पठाओलाई नै बन्द गर्न खोजेपछि पठाओ नेपाल प्रालिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडामा रोक लगाउने निर्णय गरेको छ ।

कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै पीपीईको व्यवस्था गरेको थियो । सोमवार ट्याक्सीसँग झडप भएपछि र ट्राफिक प्रहरीले पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या निम्तेको भन्दै पठाओ सेवा बन्द गराउने तयारी गरेको थियो । तर अन्तिममा पठाओले राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि ट्राफिक प्रहरीले संयमता अपनाउने भएको छ । यद्यपि राइडर सेयर गरेको थाहा पाएमा कारबाही गर्नसक्ने संकेत ट्राफिक प्रहरीले गरेको छ ।

पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलपछि ज्याकेट लगाउनुपर्ने नियम स्थगित गरेकोे पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

‘अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्काल पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न बस्न्यातले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

पठाओ कम्पनीको सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने पनि उनले स्पष्ट पारेका छन् । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरू गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार राइड (ट्याक्सी) सेवा पनि शुरू गरेको हो ।

ट्राफिक प्रहरी महाशाखामा ट्याक्सी व्यवसायीसँग छलफल गर्दै ट्राफिक प्रहरीले यसको व्यवस्थापकीय तयारी थालेको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको छ,’ उनले भने ।

‘राइडरले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटना धेरै भएपछि बुधवारबाट लागू हुनेगरी यस्तो निर्णय भएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पठाओ सञ्चालनमा नै रोक लगाउने भने कुनै निर्णय भएको छैन ।’

काठमाडौं उपत्यकामा पठाओका ९० हजारको हाराहारीमा प्रयोगकर्ता र राइडर छन् ।

पछिल्ला दिनमा पठाओ र ट्याक्सी चालकबीच लगातार विवाद र झडप भइरहेका छन् । ट्याक्सी चालकले आफ्ना ग्राहकसहित पार्किङ क्षेत्र समेत पठाओले कब्जा गरेको आरोप लगाएका छन् । विवाद बढेपछि दुवै पक्षबीच दैनिकजसो विवाद र झडप हुन थालेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्