२२ जेठ २०८३, शुक्रबार

होरीका बेला जनकपुरमा महामूर्ख र पटमूर्खको खोजी

चैत ११, २०७७
होरीका बेला जनकपुरमा महामूर्ख र पटमूर्खको खोजी
फाइल फोटो

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ ।

होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ ।

प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवम् उत्तरवैदिककालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ ।

जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि, मिथि, शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाहरूद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानहरूको योग, तप, ज्ञान र दर्शनले यो क्षेत्र सुसंस्कारित रहेको छ । सो समयमा विचार विमर्श, बैठक र सम्मेलनका माध्यमले चिन्तन, हास–परिहास हुने गरेको थियो ।

मिथिलाको संस्कृतिमा धर्मका साथै दर्शनको पनि महत्त्वपूर्ण स्थान रहिआएको मानिन्छ । दर्शनलाई धर्मसित सम्पृक्त मानिएको छ एवं यसलाई धर्मको स्वभाविक परिणतिका रूपमा ठानिएको छ । राजा जनकको दरबारमा माया, कर्म, मुक्तिजस्ता विषयको विश्लेषण गरिएको पाइन्छ ।

विदुषी विद्युत्मा र महामूर्ख कालिदासको वैवाहिक सम्बन्धका दृष्टान्त पनि मिथिलाञ्चलमै रहेको छ । विद्वानहरूबीच शास्त्रका बारेमा चिन्तन, विवाद र समाधानको केन्द्रका रूपमा पनि यो ख्यात पाएको देखिन्छ । सोही भावमूमिमा विद्वानहरूले आपूmमा महामूर्खको भाव राख्ने, सभ्यता, संस्कृतिको रक्षा गर्ने, भाषा र कलालाई  अभियानका रूपमा लिने, धरातीय अवस्थाको बोध गराउने प्रतीकका रूपमा महामूर्खको उपाधिले निरन्तरता पाएको बताइन्छ ।

महामूर्ख उपाधिमा सम्मान, अभियान र व्यंग्य समाहित देखिएको छ, मिथिलावासी विद्यापे्रमी रहेका तथा यहाँ विद्वानहरूको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ ।

महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन् । हुन त समान्यतया महामूर्खको उपाधिले ग्लानी र हीनताबोध हुनुपर्ने हो तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

राजनीतिकर्मी बजरंगप्रसाद साहका अनुसार जनकपुरधाममा होरी मनाउने सन्दर्भमा यो उपाधि महत्त्वपूर्ण स्थान रहेको बताउनुहुन्छ । महामूर्खको उपाधि र होरी उत्सवलाई बूढापाकाले दिएका निरन्तरताका शृंखलाका रूपमा आपूmले २०३६ सालमा कानूनविद् गिरिशचन्द्र लाललाई महामूर्खको उपाधि जानकी मन्दिर परिसरमा आयोजित होरी उत्सवमा प्रदान गरेको पनि उनी बताउँछन् ।

सोही उत्सवमा विमलेन्द्र निधि, वृषेशचन्द्र लाल, समीर घिमिरे, प्रेमकिशोर साहलगायत अभियानीहरूले तत्कालीन राजालाई व्यंगय गरी मञ्चबाट महामूर्खको संज्ञा दिएका कारण सो अभियानपछि गएर शासक वर्गको बक्रदृष्टिको शिकार हुन पुगेको बताइन्छ ।

शासक वर्गको बक्रदृष्टि भएपछि विभिन्न युवा क्लबहरूले होरी उत्सवलाई  रङ उत्सवका रूपमा मनाउन थालेको देखिन्छ । राजनीतिकर्मी  साह आफ्नो पहलमा शुरूमा महावीर चोकमा होरी मनाउने सन्दर्भमा जोगिरा गायन र मटका फोर अभियान पनि सञ्चालन गरेको बताउँछन् ।

केही वर्षसम्म महामूर्खको उपाधि प्रदानमा इतिहास मौन देखिए पनि मिथिला नाट्य कला परिषद्ले यसलाई जीवन्तता दिएको पाइन्छ । परिषद्ले २४ वर्षदेखि महामूर्खको उपाधि प्रदान गरिँदै आएको छ । सो परिषद् महामूर्खको उपाधि पाउनेमा ओमकुमार झा, नरेश ठाकुर, हरिबहादुर बिसी, डा राजेन्द्र विमल, रामचन्द्र झा, रामसरोज यादव, सिके लाल, शीतल झा, लालकशिोर साह र लालबाबु राउतलगायत व्यक्ति रहेका छन् ।

सामाजिक संस्कृतिको अंगका रूपमा विद्वत वर्गदेखि अभियानी, राजनीतिकर्मीलाई निराकार भाव, व्यंग्य र सम्मानमूलक रूपमा सो उपाधि प्रदान गरिँदै आएको हो । चैत १५ गते जानकी मन्दिर परिसरमा हुने होरी उत्सवमा सो उपाधि प्रदान गर्ने जनाइएको छ ।

भनिन्छ कि मिथिलाका विद्वान ज्ञानका क्षेत्रमा स्वयम्मा एउटा संस्था हुने गरेका कारण यस पटक महामूर्खको चयन निकै चासोको विषय बनेको छ । चयन समितिका संयोजक श्यामसुन्दर शशि युद्धस्तरमा महामूर्ख र पटमूर्खको खोजी जारी रहेको बताउँछन् । यसपटक २५ औं महामूर्ख उपाधिका लागि कुन क्षेत्रका व्यक्ति हकदार छन् भन्ने प्रश्नमा संयोजक शशिले नाम आउने क्रम जारी रहेको बताए ।

परिषद्ले चैत १४ गते होरी गायन प्रतियोगिता र १५ गते महामूर्ख सम्मेलनको कार्यक्रम राखेको छ । सम्मेलनमा १ जनालाई महामूर्ख र ७ जनालाई पटमूर्खको उपाधि प्रदान गरिने छ । – हिमांशु चौधरी/रासस

salt training

कमेन्ट गर्नुहोस्