
दैलेखको नारायण नगरपालिका–५ स्थित नवदूर्गा आधारभूत विद्यालय धिताहमा सयौंं विद्यार्थी बिरामीले थला परेका छन् ।
बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ ।
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउने लगायतले विद्यार्थी थला परेपछि मंगलवारदेखि ३ दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । उनका अनुसार आइतवार करीब १५०, सोमवार करीब १०० र मंगलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा ३ दिनका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा. विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।
विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा. गुरुङले जानकारी दिए ।
यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा. गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।
सयौंं विद्यार्थी २ दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीय यामराज कटुवालले बताए । विद्यार्थी मात्र नभई नारायण–५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ ।
टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्य चौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य चौकी प्रमुख षडानन्द शर्माले बताए ।