
एकपटक लालजी देवरिया सडकमा हिँड्दै गर्दा एक वृद्ध महिला उनको पाउमा परिन् र उनलाई आशीर्वाद दिइन् ।
‘म छक्क परें । ती महिला क्रिस्चियन हुन् र उनले दिनदिनै चर्चमा गएर म प्रधानमन्त्री बने हुन्थ्यो भनी प्रार्थना गर्ने गरेको बताइन् । उनले मलाई मोदीजी भनिरहिन् । उनलाई म मोदी हैन भन्ने आँटै आएन मलाई,’ देवरियाले बताए ।
त्यतिखेर देवरियाले गुजराती फिल्म नमो साउमे गामो नामक फिल्मको शूटिङ भर्खरै सकेका थिए । फिल्ममा उनी गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी बनेका थिए । उनी मोदी जस्तै देखिने भएकाले फिल्ममा लिइएको थियो ।
अचम्मको कुरा त, मोदी जस्तो देखिने भए पनि देवरिया कांग्रेसका कार्यकर्ता थिए । पार्टीको काम नगरेको बेलामा उनी दूध बेच्ने काम गर्थे ।
‘म ४५ वर्षसम्म कांग्रेसमा थिएँ अनि छोडिदिएँ । पार्टीले अनुमति दिएरै मैले फिल्मको शूटिङ गरेको थिएँ । मोदी जस्तो देखिँदा मलाई मानिसहरू मोदीलाई कति धेरै मन पराउँछन् भन्ने ज्ञान भयो । एकपटक एउटा अस्पतालमा मर्न लागेका एक व्यक्तिले मोदीको दर्शन पाए हुन्थ्यो भने । अर्को बेलामा म सडकमा हिँड्दै गर्दा बुर्का लगाएकी एक महिलाले मसँग सेल्फी खिचाएन् र मोदी आफ्नो नायक भएको बताइन् ।’
‘एकपटक सन् २०१७ मा राहुल गान्धी अहमदाबादमा चुनाव प्रचार गरिरहेका थिए अनि सञ्चारकर्मीहरूले मेरो तस्वीर लिए । भोलिपल्ट केही पत्रिकाको हेडलाइनमा मोदी राहुल गान्धीको सभामा गए भनी लेखियो । मलाई कांग्रेस पार्टीले फोन गरेको थियो । कि स्वरूप बदल, कि पार्टी छोडेर जाऊ भने । यस्तो अन्याय गरेपछि मैले पार्टी छोडें । मैले मोदीको अनुकरण गरेको हैन । यो शुरूदेखिकै मेरो स्टाइल हो ।’
देवरियाकी पत्नी भारतीलाई जिस्क्याएर यशोदाबेन भनिन्छ र उनले भनिन्, ‘उहाँ पहिलेदेखि नै मोदी जस्तो देखिनुहुन्थ्यो । यसले हामीलाई फरक पार्दैन । हाम्रा लागि यो रमाइलो कुरा हो ।’
सन् २०१८ मा देवरियाले भारतीय जनता पार्टीमा प्रवेश गर्ने निर्णय लिए । उनको प्राथमिक काम मोदीको अनुकरण गर्ने र सभाहरूमा भीडलाई खुशी पार्ने हो । आफूले ७०० भन्दा बढी सभामा मनोरञ्जन दिएको उनी बताउँछन् ।