नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो हप्तादेखि हुने भएको छ ।
वैशाख ४ देखि ११ गतेसम्म प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे ।
कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन । यसबीचममा केही घरेलु प्रतियोगिता भने क्यानले सञ्चालन गर्न सफल भएको थियो ।
कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगितामा सहभागी हुने टोलीका सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको अनिवार्य पीसीआर परीक्षण गरिने अध्यक्ष चन्दले जानकारी दिए ।