
न्युजील्यान्डले बंगलादेशविरुद्धको पहिलो टी२० मा ६६ रनको विजय हासिल गरेको छ ।
ह्यामिल्टनमा टस जितेर ब्याटिङ रोजेको न्युजील्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१० रनको विशाल स्कोर बनायो ।
जवाफमा बंगलादेश आठ विकेट गुमाएर १४४ रनमा सीमित भयो ।
न्युजील्यान्डका लागि विकेटकीपर ब्याट्स्म्यान डेभोन कनवेले नटआउट ९२ रन बनाए । उनलाई विल यंगले ५३ रन बनाएर साथ दिए । उनीहरूबीच तेस्रो विकेटका लागि १०५ रनको साझेदारी बन्यो ।
उत्कृष्ट ब्याटिङ गरेका कनवे म्याच अफ म्याच चुनिए ।
जवाफमा बंगलादेश कुनै पनि बेलामा सम्हालिएर खेल्न सकेन अनि लगातार विकेट गुमाउँदै लक्ष्यभन्दा निकै टाढा रह्यो । अफिफ होसेनको सर्वाधिक ४५ बन्यो ।
न्युजील्यान्डका लागि इश सोधीले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे ।
यी दुई टोलीबीच दोस्रो टी२० मंगलवार नेपियरमा खेलिनेछ ।