
ब्राजिलको एक अदालतले राष्ट्रपति जेर बोल्जोनारोलाई एक पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
पेट्रिसिया काम्पोस मेल्लो नामक ती पत्रकारको मानहानि हुने गरी राष्ट्रपतिले टिप्पणी गरेका थिए ।
मेल्लोले राष्ट्रपतिका विरुद्ध नकारात्मक सूचना फुत्काउन स्रोतलाई यौनको प्रलोभन दिएको आरोप बोल्जोनारोले लगाएका थिए ।
यस्तो टिप्पणीले पत्रकारको मर्यादामा आँच पुगेको न्यायाधीशको भनाइ छ ।
बोल्जोनारोले क्षतिपूर्तिका रूपमा ३५ सय डलर तिर्नुपर्ने भएको छ । उनले पुनरावेदन गर्न सक्छन् ।
मेल्लोले एक ट्वीट गर्दै न्यायाधीशको आदेश सबै महिलाका लागि विजय भएको बताइन् । उनी दैनिक पत्रिका फोल्हा दे एस पाउलोकी पुरस्कृत संवाददाता हुन् ।
जर्नलिस्ट्स अगेन्स्ट ह्यारेसमेन्ट नामक समूहले यो आदेश महिला संवाददाता तथा व्यावसायिक पत्रकारिताका लागि महान् दिन भएको बताएको छ ।
दक्षिणपन्थी राष्ट्रपति बोल्जोनारोले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारहरूप्रति कटु टिप्पणी गर्ने गरेका छन् ।