![यस्तो देखियो वसन्तपुरको होली [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Holi_gPcgKYV0Oc.png)
आज (आइतबार) फागुन शुक्ल पूर्णिमा अर्थात रङहरूको पर्व होली मनाइएको छ ।
आइतवार हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइएको छ । तराईका जिल्लाहरूमा भने सोमबार मात्रै होली मनाइन्छ ।
हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिए पनि पर्वको शुरूआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ ।
यस वर्ष काठमाडौंको वसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको र पापी प्रवृत्ति भएकी होलिकाको मृत्यु भएको खुशियालीमा परापूर्वकालदेखि होली मनाइँदै आएको कथन छ ।
चीर ठड्याइएको स्थान वसन्तपुरमा आइतबार दिउँसो पुग्दा सर्वसाधारणहरूले उल्लासका साथ होली खेलिरहेको देखिएको छ ।
सरकारले कोरोनाको दोस्रो लहर शुरू हुन सक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरू वसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए ।
धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले आज बेलुका नै ठड्याइएको चीरलाई ढालिने बताए । चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उनले बताए ।
त्यसपछि गर्जोपल्टन सहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडिखेलसम्म पुर्याएर राति ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताए ।
हेर्नुहोस्, भिडियो :