
झापामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईंले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५३ जना रहेको बताए ।
उहाँले यही चैत २० गते १०औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने जानकारी दिए । नौ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको बताए ।
हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रदेश नं १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने बताए । उहाँले अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको जानकारी दिए ।
उहाँले यही चैत २० देखि चैत मसान्तसम्म जिल्लाभर हात्तीपाइले रोगको औषधि खुवाइने कार्यक्रम रहेको बताए । स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गरे।
हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिका संयोजक तथा जिसस कार्यालय झापाका प्रमुख सोमनाथ पोर्तेलले कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी र सञ्चार क्षेत्रबाट जनचेतनामूलक कार्यक्रम प्रवाह गर्न आग्रह गरे ।
सबैलाई ‘औषधि एकपटक वरदान हो, नखाए सधैँको लागि अभिशाप हुन्छ’ भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय, कार्यालय, इँटाभट्टा तथा चिया बगान, सेना, सशस्त्र तथा प्रहरी क्याम्प, शहर बजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ ।
हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चौलागाईंले जानकारी दिए । उनले औषधि आएपश्चात् तत्काल स्थानीय तह र जिल्लाका स्वास्थ्य कार्यालयमा पुर्याइने बताए ।
उनका अनुसार जिल्लाका १५ वटै पालिकामा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई तालिम दिने काम भइरहेको छ । उनले जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने बताए ।