
सरकारी इन्जिनीयरलाई घुस दिएको आरोपमा झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने उमानाथ खतिवडाविरुद्ध ३७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनीयर सुवास बस्नेतलाई घुस दिएको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
अख्तियारको विज्ञप्तिमा उल्लेख छ, ‘ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेश गरिएका उमेश भन्ने उमानाथ खतिवडाले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको बयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा निज उमानाथ खतिवडाले तत्कालीन शहरी विकास भवन डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख सुवास बस्नेतमार्फत झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि निज सुवास बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक–पटक गरी घुस/रिसवतवापत रु. ३७,५०,०००।–जम्मा गरेको हुँदा राष्ट्रसेवक कर्मचारी सुवास बस्नेतसमेतलाई घुस/रिसवत दिने निज उमानाथ खतिवडाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसारको कसुर भएको हुँदा निज उमानाथ खतिवडालाई बिगो रु. ३७,५०,०००।– (सैतीस लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) अनुसार सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’