
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै ५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
विभिन्न ४ योजनाअन्तर्गत १ हजार ४३५ योगदानकर्तालाई ४ करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । १ हजार २२६ लाभग्राहीलाई योजनाअन्तर्गत २ करोड ५८ लाख ४६ हजार १५५ रुपैयाँ भुक्तानी भएको छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई १८ लाख ५० हजार ६२९ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई ३४ लाख २९ हजार ६४ रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबाट ११७ लाभग्राहीलाई १ करोड ६२ लाख ५५ हजार ७८१ रुपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ ।
चैत ११ गतेसम्म कोषमा ४ अर्ब ८० करोड योगदान संकलन भएको छ । कोषमा मासिक रूपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्याइने छ ।
कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।