शंखरापुर १ नाङ्लेभारे लामाबिसौनास्थित नवीनग्राम शिक्षा मन्दिर मावि परिसरमा आइतवार फागुको चहलपहल थियो ।
कक्षा ९ मा पढ्ने नाङ्लेभारेकै अस्मिता तामाङलाई दिउँसो ४ बजे साथीहरूले रङ दलिदिए ।
तर लगत्तै अनुहार भतभती पोल्न थाल्यो । सविन तामाङ र विशाल तामाङको अनुहारमा पनि जलन हुन थाल्यो ।
उनीहरूलाई रङ दल्ने पवन पहरी र आकाश तामाङको हातमा पनि जलन भइरहेको थियो ।
दोलालघाट घर भएका पवन र आकाश विद्यालय छेउमा सडक निमाृण गर्ने कामदार हुन् ।
उनीहरूले दूध संकलन केन्द्रबाहिर ग्यालिनमा राखिएको एसिडलाई पानी सम्झिएर त्यसमै रङ घोलेका रहेछन् ।
क्यान्टिनको आडमै रहेको केन्द्रबाहिर ग्यालिनमा ६ लिटर जति एसिड राखिएको थियो ।
एकैछिनमा स्थानीय भेला भए । प्रहरी आए ।
अस्मिता, विशाल र सविनलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगियो ।
अस्मिताको अनुहारमा एसिडले गहिरो घाउ बनाएको छ ।
विशाल उपचारपछि घर फकिएका छन् भने सविनलाई मंगलवार डिस्चार्जको तयारी गरिएको अन्नपूर्ण पोस्ट दैनिकमा अजवी पौड्यालले खबर लेखेकी छन् ।