०८ साउन २०८३, शुक्रबार

सुरक्षा दृष्टिकोणले दोस्रो चरणको चुनाव बढी चुनौतीपूर्ण, ४५ हजार सेना परिचालन हुने

कात्तिक २०, २०७४
सुरक्षा दृष्टिकोणले दोस्रो चरणको चुनाव बढी चुनौतीपूर्ण, ४५ हजार सेना परिचालन हुने

काठमाडौं, ११ जेठ–दोस्रो चरणमा जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले सुरक्षा तयारी तीब्र बनाएको छ । पहिलो चरणकोभन्दा बढी चुनौतीपूर्ण हुने भन्दै गृहमन्त्रालयले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार तराई र पहाडका गरी ४१ जिल्लामा हुन लागेको निर्वाचन भारतसँगको खुला सीमाना र तराईमा सक्रिय भूमिगत संगठनहरुका कारण थप चुनौतीपूर्ण देखिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि दोस्रो चरणको निर्वाचनमा सुरक्षा अझै चुनौतिपूर्ण हुने निश्कर्ष निकालेको छ ।


यी हुन दोस्रो चरणको निर्वाचनको सुरक्षा चुनौती:

तराईका भूमिगत संगठनको गतिविधि

तराईमा अहिले पनि विभिन्न भूमिगत संगठनहरु सक्रिय छन् । खासगरी जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चाको गतिविधिलाई चुनावी सुरक्षाको मूख्य चुनौतीको रुपमा लिइएको छ । तराइमा चन्दा र फिरौती उठाउनको लागि सक्रिय अन्य आपराधिक समूहका क्रियाकलापलाई सुरक्षाकर्मीले नियन्त्रण गरिसकेको छ ।


भारतसँगको खुल्ला सीमाना

नेपालमा आतंक मच्चाउने संगठनका सदस्य तथा व्यक्तिहरु सजिलै सीमापारी भारतीय क्षेत्रमा पुग्छन् । र कुनैपनि बेला भारतबाट नेपाल छिर्न सक्छन् । सीमा नाकाबाट हातहतियार समेत सहजै नेपाल भित्रिन सक्ने भएकाले भातरसँगको खुला सीमा दोस्रो चरणको निर्वाचनका मूख्य चुनौती रहेको गृह मन्त्रालय र केन्द्रीय सुरक्षा समितिको ठहर छ ।

मधेशकेन्द्रीत दलका क्रियाकलाप

संविधान संशोधन विधेयक पारित भए मधेस केन्द्रीत दलहरुले दोस्रो चरणको चुनावमा सहभागी हुने बताइरहेका छन् । तर, चुनाव अगावै संविधान संशोधन हुने संभावना कम छ । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिइसकेको अवस्थामा संशोधनका लागि सार्थक पहल हुने संभावना कम छ ।
जसकारण मधेसी दलहरुले चुनावमा सहभागी हुने संभावना कम रहेको पनि आकलन गरिएको छ । मधेसी दलहरुले चुनावमा सहभागी नभए चुनाव भाँड्ने गतिविधि हुन सक्ने सुरक्षा निकायका अधिकारीहरुको विश्लेषण छ ।


सिके राउत समूह

यसअघि तराई मधेसमा भएका आन्दोलनहरु हिंसात्मक घटनामा परिणत हुनुलाई सुरक्षा निकायका अधिकारीले सिके राउतका कार्यकर्ताको घुसपैठलाई पनि प्रमुख कारण मान्ने गर्थे । र दोस्रो चरणको चुनावमा पनि तराईका जिल्लामा चुनाव विथोल्न सिके राउतका कार्यकर्ताहरु परिचालिन हुन सक्ने सुरक्षा निकायका अधिकारीको ठहर छ । त्यस सम्बन्धमा नेपाल प्रहरीले विशेष अध्ययन गरेर गृहमन्त्रालयसमक्ष प्रतिवेदन नै पेस गरिसकेको छ ।



पहिलोबाट पाठ सिक्दै कमजोरी सच्याइने

दोलखा र कालिकोटमा भएका घटना बाहेक पहिलो चरणको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको गृमन्त्रालयको ठहर छ । निर्वाचनको अघि र निर्वाचनकै दिन दोलखा जिल्लामा दुई जनाको मृत्यु भएको थियो । यता कालिकोटको नरहरिनाथ गाउ“पालिकास्थित नन्दादेवी माविमा रहेको मतदान केन्द्रको मतपेटिका जलाउन पुगेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हु“दा एक जनाको मृत्यु भएको थियो ।

सरकारले उक्त घटनालाई सुरक्षा व्यवस्थाको कमजोरीको रुपमा औंल्याइएको छ । यो घटनाबाट पाठ सिक्दै दोस्रो चरणको निर्वाचनमा थप सतर्कता अपनाउने प्रहरी महानिरीक्षक प्रकाश अर्याल बताउ“छन् ।

गृह मन्त्रालयले पनि दोस्रो चरणको निर्वाचनका लागि विभिन्न चुनौती मुल्याङ्कन गर्दै पहिलेको सुरक्षा रणनीति परिवर्तन गर्दै छ । गृहमन्त्रालयका प्रवक्ता पन्थीका अनुसार आगामी जेठ १५ गतेभित्र थप सुरक्षा रणनीति तयार हुने छ ।

कसरी परिचालित छन् सुरक्षाकर्मी ?

निर्वाचन सुरक्षाको लागि सरकारको तीन घेराको सुरक्षा रणनीति छ । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटिएका छन् । पहिलो घेरा अन्तर्गत मतदान स्थलको सुरक्षा जिम्मा नेपाल प्रहरीले सम्हाल्नेछ । नेपाल प्रहरीलाई सशस्त्रले साथ दिनेछ । यदी मतदान स्थलमा हुलदंगा भए सशस्त्रले नियन्त्रण गर्नेछ । सेनाले भने मतदान केन्द्र बाहिरको सुरक्षा जिम्मा सम्हाल्ने छ ।

सेनाले मतदान केन्द्र बाहिरबाट नियाल्ने, बम डिस्पोजल टोली खटाउने र केही परे हेलिकप्टरको व्यवस्थासमेत गर्ने जिम्मा पाएको छ । म्यादी प्रहरीले भने मतदाताहरूको लाम मिलाउने र भिडभाड भए त्यसको नियन्त्रणमा नेपाल प्रहरीलाई सघाउने छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सूचना संकलनको काम गर्ने छन् ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनको लागि खटिएका ७५ हजार म्यादी प्रहरी ४१ जिल्लामा मात्र खटाइने गृहमन्त्रालयको भनाइ छ । त्यसै गरी ३५ हजार नेपाल प्रहरी र २० हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाकै लागि भनेर खटिँदैछन् ।

४५ हजार सेना परिचालित हुने

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, दोस्रो चरणको निर्वाचनका लागि ४५ हजार सेना परिचालित हुनेछन् । सैनिक प्रवक्ता झंकरबहादुर कडायतका अनुसार ४५ हजार सैनिकले सुरक्षाको तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछन् ।

गत ३१ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि सेना परिचालन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्