
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा चुनाव प्रचारका क्रममा मुख्यमन्त्री ममता बनर्जीमाथि शाब्दिक आक्रमण गरेका छन् ।
उनले दिदी, दिदी भन्दै ममतालाई तारो बनाउँदै भाषण दिए ।
जयनगरमा एक सभालाई सम्बोधन गर्दै उनले विगत केही समययता ममता दिदीको फैसलाबाट बंगालको राजनीतिको ओपिनियन पोल पनि एक्जिट पोल पनि बनेको बताए ।
‘
दिदी आरम्भिक रुझान थाहा पाएपछि भवानीपुर सीट छोडेर नन्दीग्राम पुगिन् । नन्दीग्राम गएपछि उनलाई त्यहाँ गएर गल्ती गरिएछ जस्तो लागेछ । रिसाएर उनी नन्दीग्रामका जनतालाई अपमान गर्न थालिन् । पहिलो चरणको
मतदानपछि उनको क्रोध झनै बढ्यो । उनले हिजै मात्र देशका नेताहरूलाई सन्देश पठाएर सहायतका लागि अपील गरेकी छन् । दिदीको नजरमा बाहिरी मानिसहरूलाई भेट्ने समय पनि दिँदैनथिइन्, अहिले उनीहरूसँगै समर्थन मागिरहेकी छन्,’ उनले भने ।
सम्बोधनमा उनले थपे, ‘ममता दिदीलाई जय श्रीरामको आह्वानले दिक्क बनाउँछ, यो बंगाललाई थाहा छ । दिदीलाई दुर्गाजीको प्रतिमा विसर्जनले दिक्क बनाउँछ । दिदीलाई तिलकले दिक्क बनाउँछ । भगवावस्त्रले दिक्क बनाउँछ । अब त दिदी टुप्पी पाल्ने मानिसलाई राक्षस भन्न थालेकी छन् । ममता दिदीले उत्तर प्रदेश र बिहारका मानिसविरुद्ध दुश्मनीको भाषा बोल्दा उनको राजनीतिक समझमा प्रश्न उठाउन मिल्ने भएको छ ।’
प्रधानमन्त्रीले थपे, ‘ए दिदी, तपाईं हामीलाई चिन्नुहुन्न । हामी मौसमी आस्था राख्ने मान्छे हैनौं । हामी आफ्नो आस्था र श्रद्धामा सधैं गर्व गर्ने मानिस हौं ।’