
फिफा विश्वकप २०२६ को उपाधि भिडन्त निकै रोमाञ्चक र नाटकीय मोडमा पुगेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको फाइनल खेलको अतिरिक्त समयमा फेरान टोरेसले गोल गरेपछि स्पेनले साविक विजेता अर्जेन्टिनाविरुद्ध १-० को अग्रता लिएको छ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको यस प्रतिस्पर्धाको १०६औँ मिनेटमा टोरेसले गोल गरेका हुन्। पेड्रो पोरोले दिएको सुन्दर क्रसलाई ब्याक पोस्टमा रहेका निको विलियम्सले हेडमार्फत मिलाइदिएका थिए, जसलाई टोरेसले उत्कृष्ट ढंगले प्रहार गर्दै बललाई जालीको दिशा दिए।
खेलको लामो समयसम्म अर्जेन्टिनाको बलियो रक्षापंक्तिलाई तोड्न संघर्ष गरिरहेको स्पेनका लागि यो गोल 'रिलिफ' बनेको छ।
खेलको ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा खुम्चिए पनि अर्जेन्टिनाले कडा रक्षात्मक रणनीति अपनाउँदै खेललाई पेनाल्टी सुटआउटसम्म लैजाने प्रयास गरेको देखिन्थ्यो।
तर, स्पेनको निरन्तरको आक्रमण र दबाबका अगाडि अर्जेन्टिनाको रक्षापंक्ति अन्ततः १०६औँ मिनेटमा असफल सावित भयो।
अतिरिक्त समयको पहिलो हाफमा मिकेल मेरिनोले गोल गर्ने निकै सजिलो अवसर गुमाए पनि स्पेनले दोस्रो हाफको सुरुवातमै सफलता हात पार्यो। अब खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा अर्जेन्टिनामाथि खेलमा फर्कने ठूलो दबाब परेको छ।