नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले बिहीवार पुष्टि गरेको छ ।
उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायु सेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरेका छन् ।
विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको उनले बताए । समाचार तयार पार्दासम्म विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन ।
विमान एक्कासी सम्पर्कबाहिर गएकोले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन् ।
विमान रहेको ठाउँ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको बताउँदै यसबारे थप सूचना आउँदा साथ जानकारी गराइने प्रवक्ता गाब्वेटले जानकारी गराए ।
विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोबस्तीका सामान लिएर गएको उहाँले बताउनुभयो । उहाँले विमानको खोज र उद्धार प्रयास जारी रहेको बताए । रासस/सिन्ह्वा