
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।
सगरमाथाका ३ सहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ ।
बिहीवार मात्रै सगरमाथाका ३ सहित ६ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए ।
विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।
पर्वतारोहण शाखाको तथ्यांकमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी ७ आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा २, नुप्से (७,८६४ मिटर) मा २ आरोही समूह छन् ।
पुमरी (७, १६१ मिटर) मा १ आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि ४ र धौलागिरि हिमाल (८,१६७ मिटर) मा २ समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा १ आरोही समूह छ ।
हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृंखला आरोहीको रोजाइमा पर्छन् ।
आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ । आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ ।