३० जेठ २०८३, शनिबार

सिसडोलमा फोहोर विसर्जनको अवरोध हट्यो, आजैबाट फोहोर उठ्ने

सिसडोलमा फोहोर विसर्जनको अवरोध हट्यो, आजैबाट फोहोर उठ्ने

काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच आज भएको छलफलपछि फोहोर विसर्जनको अवरोध हटेको छ ।

 बिहीवार भएको छलफलमा काठमाडौँ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य अस्वस्थ्य भएपछि आज बस्ने गरी टुंगिएको थियो ।

आँखामा समस्या भएपछि प्रमुख शाक्य हिजोको वार्तामा अन्तिमसम्म बस्न सकेका थिएनन् । आज पनि उनी विरामी अवस्थामै उपस्थित भई वार्तामा बसेका थिए।

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन् ।

छलफलका क्रममा उनीहरुका माग सम्वोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढंगले अघि बढ्न सकिने पनि बताए ।

 प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिवद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। स्वास्थ्य सम्वन्धि बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उनको भनाई थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा प्रष्ट धारण बनाएर आउन उनले आग्रह गरे।  

धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पुर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे। उनले स्थानीय स्तरका समस्या संस्थागत रुपमा आउनु पर्नेमा जोड दिदैँ त्यसो भयो भने मात्रै संघीयताले स्थानीय सरकारलाई दिएको अधिकारले सार्थकता पाउने बताए ।    

छलफलमा सहभागी ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए । ‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने,  जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञटोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,’ बजगाईंले भने, ‘अब आजैबाट फोहोर उठ्छ ।’ 

काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको  ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिनेलगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताए ।  

दुई दिन अघिको छलफलमा प्रमुख शाक्यले प्रभावित क्षेत्रका विद्यालयको लागि ५१ जना शिक्षकको दरबन्दी माग गरेको भन्दै त्यो मागप्रति सकारात्मक बनी नेपाल सरकारबाट स्थायी दरबन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उनीहरुले व्यवस्था गरेको अस्थायी दरबन्दीका ५१ जना शिक्षकको खर्चका लागि  महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

त्यसैगरी दुई दिन अघि नै भएको छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको  ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राख्नुभएको थियो । 
त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस अघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म  नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका थिए । बिहीवार पनि उनीहरुको माग सम्वोधनका लगि छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्