अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकालाई कोभिड–१९ ले ल्याएको आर्थिक सुस्तताबाट उकास्न दुई खर्ब डलर बराबरको संरचना निर्माणको योजना सार्वजनिक गरेका छन् । यसमार्फत उनी चीनसँग प्रतिस्पर्धा पनि गर्न चाहन्छन् । तर संरचना निर्माणमा बेइजिङसँग प्रतिस्पर्धा गर्ने स्थितिमा वाशिङटन छैन र यसका विभिन्न कारण छन् ।
अमेरिकाले संरचना निर्माणलाई अघि नबढाएमा चीनले काँचै खाइदिने भनी बाइडनले फेब्रुअरी महिनामा टिप्पणी गरेका थिए ।
बुधवार बाइडनले सार्वजनिक गरेको योजनाले रेलमार्ग, सडक तथा बन्दरगाहको आधुनिकीकरणका साथै विद्युतीय वाहनहरू अमेरिकामा विकसित गर्ने भनेको छ । सेमीकन्डक्टर जस्ता कोर प्रविधिका क्षेत्रमा उत्पादनका लागि लगानी गर्ने, घर बनाउने, ब्रोडब्यान्ड संरचना निर्माण गर्ने र समाजका निम्नवर्गलाई सहायता गर्ने पनि योजना छ । अनि वातावरणमा पनि जोड दिइएको छ । मान्नुपर्छ, बाइडनको यो योजना निकै महत्त्वाकांक्षी छ ।
तर यो चीनको नक्कल गर्ने कोशिश जस्तो देखिन्छ । यसले काम गर्छ कि गर्दैन भन्ने मूल प्रश्न हो । हुन त यस प्रस्तावको उद्देश्य चीनसँगको प्रतिस्पर्धा नै हो भन्न मिल्दैन तर त्यस प्रतिस्पर्धाले यसलाई प्रेरित गरेको पक्का हो ।
बेइजिङले द्रुत गतिका रेल, विमानस्थल तथा अन्य संरचना निर्माणमार्फत आर्थिक विकासलाई गति दिएको सबैलाई थाहा छ । तर ‘एक पुस्तामा एकपल्ट’ आउने भनी बाइडनले प्रस्ताव गरेको कार्यक्रम चीनले गरेको लगानीको तुलनामा सानो हिस्सा मात्र हो । चीनले पोहोर साल मात्र ७.५ खर्ब डलर बराबरको परियोजनाको योजना सार्वजनिक गरेको थियो (यद्यपि ती सबै परियोजना एकैपटक कार्यान्वयन हुँदैनन्) । अनि ऋणको पीरका कारण चीनले अहिले परियोजना निर्माणको गति घटाएको छ ।
जे भए पनि अमेरिकाले चीनलाई यस खेलमा हराउन सक्दैन । यी दुई मुलुकको राजनीतिक प्रणालीमा रहेको भिन्नता तथा बाइडनले सामना गर्ने अवरोधले गर्दा बेइजिङ अघि बढे जस्तो गरी अमेरिका अघि बढ्न सक्दैन ।
चीनको राजनीतिक प्रणाली संरचना विकासलाई द्रुत गति दिनका लागि उपयुक्त छ र उसको तुलना संसारको कुनै पनि देशसँग हुन सक्दैन । त्यो प्रणाली पूर्णतः केन्द्रीकृत छ र माथिबाट सीधै निर्णय गरिने हुँदा बजेट, योजना, स्वीकृति तथा घरेलु राजनीति केहीले पनि त्यसलाई असर पार्दैन । तर पश्चिमा मुलुकमा यी सबै प्रक्रिया अपनाउनुपर्ने भएकाले संरचना निर्माण लम्बेतान चल्छ ।
चीनको द्रुत प्रक्रियाका कारण केही संरचना चाहिनेभन्दा बढी बनेको अनि मानिसहरूको घर, जग्गा तथा यदाकदा वातावरण नजोगिएको स्थिति पनि छ । तर त्यसले काम गरिरहेको छ र त्यसैले गर्दा चीनले संसारको सबभन्दा लामो द्रुत गतिको रेल सञ्जाल, ५जी नेटवर्क तथा संसारको सबभन्दा ठूलो विमानस्थल (बेइजिङ दाइसिङ) निकै छोटो अवधिमा बनाउन सकेको छ ।
बाइडन यसबाट प्रेरित भएका हुन् । अमेरिकाले चीनलाई भेट्टाउने आवश्यकताको बोध उनलाई छ तर उनी त्यो गर्न सक्दैनन् । अमेरिकामा संरचना निर्माणमा खर्चको प्रक्रिया लामो, पट्यारलाग्दो र झन्झटिलो छ । अझ अहिले चरम राजनीतिक ध्रुवीकरण भइरहेको अवस्थामा यो योजना ल्याइएको छ ।
पहिलो कुरा त, अमेरिकामा चीनको जस्तो केन्द्रीकृत नेतृत्व छैन । बजेटमा संसद्को हाइदुहाइ चल्छ, राष्ट्रपतिको हैन । उनले संसद्सँग सम्झौता गर्नुपर्ने हुन्छ ।
त्यसो त बाइडनको दलले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेको छ तैपनि उनका लागि बाटो सहज छैन ।
विधेयकलाई संसद्ले रोक्ने छैन तर बाइडनले विभिन्न संसदीय क्षेत्र तथा पार्टी गुटको स्वार्थलाई सम्बोधन गर्न विधेयकका प्रावधानहरूमा व्यापक संशोधन गर्नुपर्ने हुन्छ । बाइडनले अहिले भिजन मात्र सार्वजनिक गरेका हुन् र तीखो नजर भएका पर्यवेक्षकले यो शुरूआती कदम मात्र हो भन्ने थाहा पाएका छन् । अन्तिममा सर्वसम्मति खोज्नपर्ने हुन्छ र त्यतिबेलासम्म यसको महत्त्वाकांक्षा घटाइसकिएको हुन्छ ।
विपक्षी रिपब्लिकनहरूले विधेयकलाई रोक्न नसके पनि आक्रमण शुरू गरिसकेका छन् । यस निर्माण योजनामा लगानीका लागि बाइडनले कर्पोरेट जगतको कर बढाउने उद्देश्य राखेकाले रिपब्लिकनहरूले यसको आलोचना गरेका छन् ।
यस योजनामा राखिएको वातावरणको विषयले पनि प्रतिकारको सामना गरिरहेको छ । यस परिदृश्यले स्पष्ट पारेको छ, बाइडनले यो विधेयक ‘एक पुस्तामा एकपल्ट’ भनी गम्भीरतापूर्वक भनेका हुन् किनकि यति ठूलो खर्चका लागि सम्मति जुटाउन निकै विशाल राजनीतिक पूँजी उपयोग गर्नुपर्ने हुन्छ ।
चीनमा विपक्षीरहित एकदलीय शासन भएकाले आवश्यक परेको बेलामा जतिखेर पनि संरचना निर्माण गर्न सक्छ । तर अमेरिकामा यसका लागि राजनीतिक प्रणाली पूरै चलायमान हुनुपर्छ । यति धेरै रकम खर्च गर्नका लागि सहमति जुटाउन नै महाभारत छ, कसरी खर्च गर्ने भन्ने त पछिको कुरा भयो ।
रिपब्लिकनहरू राष्ट्रपति निर्वाचनअघि सिनेटमा बहुमतको स्थितिमा हुँदा दोस्रोपटकको आर्थिक पुनरुत्थान प्याकेजको प्रयास विफल भयो । अहिले बाइडनको हनीमून अवधि चलिरहेको छ किनकि विपक्षी दलले मध्यावधि निर्वाचनपछि संसदमा प्रभुत्व कायम गर्ने गरेको इतिहास छ ।
यस्तो अवस्था रहेकाले संरचना निर्माणमा चीनसँग प्रतिस्पर्धा गर्नु सहज छैन । तर भूराजनीतिक परिस्थिति जस्तो भए पनि अमेरिकालाई थप उम्दा संरचना आवश्यक परेको छ । तर दुई मुलुकका शासन प्रणाली नितान्त फरक भएकाले विकास निर्माण प्रक्रियामा पूर्णतः भिन्नता छ ।
बाइडनले अहिले प्रस्ताव गरेको योजना बेइजिङका लागि बायाँ हातको खेल हो । खासमा यो अल्पकालीन प्रोत्साहन हो, दीर्घकालीन रणनीति हैन । अनि अमेरिकी राजनीतिक प्रणालीको गत्यवरोधले बाइडनलाई सजिलै काम गर्नै दिँदैन ।
अमेरिकामा हातहतियार र युद्धका विषय बाहेक अन्यमा पैसा खर्च गर्नु विवादास्पद मानिन्छ । यो दुर्भाग्यपूर्ण कुरा हो किनकि अमेरिकाको सबभन्दा ठूलो भूराजनीतिक प्रतिस्पर्धीले देशमा अनि विदेशमा व्यापक रूपमा पैसा खर्च गरिरहेको छ ।
आरटीमा प्रकाशित भूराजनीतिक विश्लेषक टम फाउडीको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।