
काठमाडौंका खम्बामा बिजुली र टेलिफोनका तारहरू असरल्ल पारेर राखिएको कुरूप दृश्य सबैले देखेका छन् ।
ताररहित बिजुली सेवाको उपयोग गर्न पाए यस्ता गुजुल्टा देख्नुपर्दैन थियो होला ।
न्युजील्यान्डमा ताररहित विद्युत् आपूर्ति सेवाको परीक्षण भइरहेको छ ।
न्युजील्यान्ड सरकार र एमरोड नामक स्टार्टअप कम्पनीले मिलेर यस परियोजनामा धमाधम काम थालेका छन् ।
ताररहित बिजुली कुनै विज्ञानकथा जस्तो लाग्छ । तर यसको परिकल्पना गरिसकिएको छ र अब यसको उपयोगिताका विषयमा परीक्षण गरिँदैछ ।
परीक्षणका लागि १३० फीटको प्रोटोटाइप वायरलेस एनर्जी इन्फ्रास्ट्रक्चर तैनाथ गरिने योजना छ । यसका लागि एमरोडले रेक्टिफाइड एन्टीना विकसित गरेको छ । यसलाई रेक्टिना नाम दिइएको छ ।
यस एन्टीनामार्फत बिजुलीको माइक्रोवेभलाई समात्न सकिन्छ । यसले न्युजील्यान्डको पहाडी क्षेत्रमा चमत्कार गर्ने बताइँदैछ ।
एमरोडका संस्थापक ग्रेग कुशनरले लामो दूरीको ताररहित विद्युत् प्रसारणका लागि प्रविधि विकसित गरिसकिएको बताए । यसले ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनुका साथै भविष्यको मार्गदर्शन पनि गर्ने उनको भनाइ छ ।
सन् १८९० को दशकमा निकोला टेस्लाले ताररहित विद्युत् आपूर्तिको परिकल्पना गरेका थिए । त्यसका लागि उनले टेस्ला कोइल नामक ट्रान्सफर्मर सर्किटमा काम गरेका थिए तर लामो दूरीमा बिजुलीको बीमलाई नियन्त्रण गर्न सकिने कुरा उनले प्रमाणित गर्न सकेनन् ।
टेस्लाले देखेको सपना आफूहरूले पूरा गर्ने एमरोड कम्पनीले बताएको छ ।