
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।
समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । ‘दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्,’ उनले भने, ‘मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि !’
प्रधानमन्त्री ओलीले संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए । ‘कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्,’ उनले भने, ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अंकगणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।’
प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अंक गणित बनाइनुपर्नेमा जोड दिनुभयो । उनले यदि संसदीय अंक गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे ।
‘संसद्लाई देशको आवश्यकताअनुसार अंकगणितीय बनावटमा लैजानुपर्दछ । संसदीय अंक गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ,’ उनले भने, ‘यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ ।’