२३ जेठ २०८३, शनिबार

नाकामा नाम मात्रको चेकजाँच

चैत २३, २०७७
नाकामा नाम मात्रको चेकजाँच
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ।

कोहलपुर नगरपालिका–८ की सविता बोहोरा, उनकी दिदी भूमिका बोहोरा र भतिजी कविता बुढा रुपैडियाको एक पसलमा कुर्तासुरुवाल मोलमोलाइ गरिरहेका थिए। ‘८ सयमा दिनुस् न दाइ। यो कोहलपुरमै एक हजार रुपैयाँमा पाइन्छ’, उनीहरूले भाउ घटाउन खोजे। पसल सञ्चालक रजा इमाम रिजिवी भन्दै थिए, ‘१२ सयको सामानलाई एक हजारमा दिएको छु। अब एक रुपैयाँ पनि घट्दैन।’

रिजिवीले मास्क लगाएका थिएनन्। किशोरीहरूले लगाएको मास्क चिउँडोमुनि थियो। ‘कोरोनाको डरले यो त लास्टै चोटि हो भन्छौं, पहिलेको वाचा बिर्सन्छौं फेरि आइहाल्छौं’, सविता भन्दै थिइन्, ‘भारतमा कोरोना बढ्दो दरमा छ। त्यो पनि थाहा छ। सामान सस्तो पाइन्छ भनेर आउन मन लागिहाल्छ।’ उनीहरूले किनमेल गर्ने सामानको सूची सुनाए–ؘ ‘कम्तीमा १० किलो आलु, ५ किलो चिनी, ५ किलो प्याज किन्ने योजना छ।’

भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन््। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ। जमुनाहाबाट रुपैडियासम्म यो संवाददाता ग्राहकका रूपमा समाचार संकलनमा पुग्दा निर्बाध सीमा वारपार भइरहेको पाइयो। केन्द्रले भनेजस्तो प्रतिबन्ध कतै देखिएन। कतिपय त औषधि किन्ने बहानामा रुपैडिया पुगेका भेटिए।

‘औषधि किन्न आएको हो। आउँदा अरू सामान पनि किनेर जान्छन्’, कपडा व्यापारी व्यंग्य गर्दै थिए। धेरैजसोको पोकापन्तुरोमा आलु, चिनीलगायत दैनिक उपभोग्य वस्तु थिए। जानकी गाउँपालिका–२ बकोटियाका कोरबहादुर खटिक ५ किलो प्याज, साढे २ किलो चिनी, २ किलो सुजी र २ पोका दालमोठ बोकेर फर्किंदै थिए।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाको जोखिमबाट सर्वसाधारणलाई जोगाउन किनमेलका लागि रुपैडिया जान प्रतिबन्ध गर्ने निर्णय गरिए पनि कार्यान्वयनको अवस्थाबारे थाहा नभएको बताए। सीमा नाकामा नियमित अनुगमन के भइरहेको छ भन्ने जिज्ञासामा कुरुम्बाङले भने, ‘भोलिदेखि नै सीमामा कडाइ गरिनेछ।’

हेल्थ डेस्कमा छैनन्

मेडिकल अधिकृतस्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ११ चैतदेखि हेल्थ डेस्क सञ्चालन गरेको छ। देशभरिका डेढ दर्जन सीमा नाकामा यस्तो व्यवस्था गरिएको छ। तर, जमुनाहास्थित हेल्थ डेस्क लक्ष्यको आधा कर्मचारीबाट चलेको छ। एक जना मेडिकल अधिकृतसहित ६ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा तीन जनाले मात्र काम गरिरहेका छन्। दिउँसो हेल्थ डेस्कमा पुग्दा एक जना ल्याब, अर्का अहेब र एक अनमी काम गरिरहेका थिए। सिफ्ट सकिएको भन्दै अनमी जाँदा दुई जनाले काम गरेको पाइएको थियो।

दैनिक हजारौंको ओहोरदोहोर हुने यो नाकामा आइतबार दिउँसो ३ बजेसम्म १२ दिनमा ३ हजार १ सय ९९ जनाको ज्वरो नापिएको हेल्थ डेस्कको ल्याबमा कार्यरत चिरञ्जीवी ज्ञवालीले बताए । यहाँ  दैनिक औसत २ सय ५० जनाको ज्वरो नाप्ने काम भइरहेको छ। ज्वरो आएकामध्ये एन्टिजेनबाट कोरोना परीक्षण गराउँदा ५ जनामा कोेरोना पुष्टि भएको छ। ४ जना मुम्बई र १ जना गुजरातबाट आएका हुन्। १३ चैतमा गुजरातबाट आएका रोल्पाका ३० वर्षका पुरुष, १४ गते बर्दियाका ४१ वर्षका पुरुष, १७ गते दैलेखका, १८ गते दैलेखका अर्का ४० वर्षका पुरुष र २२ गते बर्दिया ठाकुरबाबा नगरपालिका ४१ वर्षका पुरुषमा कोरोना संक्रमण भएर भेरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

परीक्षण गराउन अस्वीकार
भारतको मुम्बईमा होटलमा काम गरेर फर्केका सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानका धनबहादुर चलाउनेलाई हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले ज्वरो नापे। सामान्य थियो। कर्मचारीले सोधे, ‘कोरोना परीक्षण गरेर आउनुभएको हो ?’ उनले परीक्षण गरेको तर रिपोर्ट नआउँदै घर फर्किएको भनेर टारे। मुम्बईबाट आउने धेरै व्यक्तिमा कोरोना देखिएकाले स्वास्थ्यकर्मीले कोरोना परीक्षण गरौंभन्दा उनले आफू ठीकै भएकोले परीक्षण नगर्ने अड्डी कसे।

उनी मात्र होइन घर जान आएका व्यक्ति आइसोलेसनमा बस्नुपर्ने भन्दै डरले परीक्षण गराउन नमान्ने गरेको गुनासो स्वास्थ्यकर्मी गरे। चलाउनेका अनुसार मुम्बईमा धमाधम होटल बन्द भएपछि नेपाली घर फर्किइरहेका छन्। लकडाउनका बेलासमेत मुम्बई नछोडेकाहरू दोस्रो चरणको कोरोना महामारीको डरले घर फर्किरहेका छन्। भारतमा वर्षौं बसेका कतिपय ज्येष्ठ नागरिक जिल्ला थाहा छ तर पालिका थाहा नहुने भेटिए। उनीहरू हिन्दी मिश्रित नेपालीमा कोरोनाबाट जोगिन घर फर्केको बताउँदै थिए।

गुजरातको प्लास्टिक कम्पनीमा चार वर्षदेखि काम गर्ने कैलालीको टीकापुर–९ का अजय सोनी पत्नी र छोरासहित हेल्थ डेस्कमा भेटिए। कोरोना बढेन भने उनी दुई महिनापछि फेरि भारत जाने बताइरहेका थिए। ‘त्यहाँ कोरोना बढे घरैमा बसौंला’, उनले भने।

भारतबाट फर्कने अधिकांशमा कोरोना त्रासमा देखिन्थे। सीमा नाकामा ज्वरो मात्र नापेका भरमा उनीहरू निर्बाध घर फर्किरहेका छन्। उनीहरूले कोरोना सार्ने खतरा रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। अन्नपूर्ण पोस्ट दैनिकमा शंकरप्रसाद खनालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्