आधुनिक प्रविधिहरूमा दुर्लभ पदार्थको माग निरन्तर बढिरहेको छ । ब्याट्री, स्मार्टफोन, हाइब्रिड गाडी र हावाको टर्बाइनमा दुर्लभ पदार्थहरूको उपयोग हुने गरेको छ ।
सन् २०२४ सम्ममा दुर्लभ पदार्थको बजार लगभग २० अर्ब डलर बराबर हुने ग्लोबल मार्केट इन्साइट्सले अनुमान गरेको छ । चीनसँग लगभग ४ करोड ५० लाख टन दुर्लभ पदार्थको सञ्चिति छ ।
लडाकू विमानदेखि विद्युतीय कारसम्ममा दुर्लभ पदार्थ उपयोग हुनाले त्यसको सुरक्षाका लागि विभिन्न मुलुकहरूले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्थामा चीनमा निर्भर रहँदा बेलायतको सुरक्षामा आघात पुग्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
चीनले दुर्लभ पदार्थको विश्वव्यापी उत्पादनको ९५ प्रतिशतभन्दा बढी भाग ओगटेको छ । यस दुर्लभ प्राकृतिक स्रोतका लागि प्रतिस्पर्धा बढिरहेको अवस्थामा बेइजिङले यसलाई प्रभाव स्थापनाको हतियार बनाउन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन् ।
‘चीनले आपूर्ति शृंखलामा आफ्नो अवस्थितिको उपयोग गरेर अन्य अर्थतन्त्रहरूलाई दबाब दिने जोखिम छ र बेलायतसँग भरपर्दो विकल्प छैन,’ यूके सीबेड रिसोर्सेसका व्यवस्थापकीय निर्देशक क्रिस विलियम्सले बताए ।
अधिकांश दुर्लभ पदार्थहरूलाई औद्योगिक सुन भन्ने गरिन्छ किनकि तिनलाई रक्षा र प्रविधि क्षेत्रमा विभिन्न रूपमा उपयोग गर्न सकिन्छ र पृथ्वीको गर्भमा यो प्रशस्त पाइन्छ ।
तर पृथ्वीको सतहमुनि रहेका १७ वटा धातुको उत्खनन गर्ने र तिनलाई उपयोगी सामग्रीमा परिणत गर्ने प्रक्रिया महंगो छ ।