२७ जेठ २०८३, बुधबार

कांग्रेस सांसद संग्रौलाले संसदबाटै मागिन् प्रधानमन्त्री ओलीको राजीनामा

कांग्रेस सांसद संग्रौलाले संसदबाटै मागिन् प्रधानमन्त्री ओलीको राजीनामा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छिन् । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद संग्रौलाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीले पुनःस्थापना भइसकेपछि शासन चलाउने नैतिक अधिकार गुमाइसकेको बताएकी हुन् । 

‘प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएका छन् । सत्ता टिकाउन जे जस्तो कुकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ । आज उनलाई प्रतिनिधि सभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ,’ संग्रौलाले भनिन्, ‘नेपालको इतिहासमा पहिलोपटक विभिन्न बहानामा संसद्लाई निष्क्रिय र विजनेशविहीन बनाइँदै छ । सर्वोच्चले संसद्को पुनःस्थापना गरेपश्चात उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसदबाटै उनको राजीनामा माग गर्दछु ।’

सांसद संग्रौलाले कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

‘कोरोनाको महामारीले एक वर्षयता विश्वलाई नै लखेटिरहेको छ । युरोपका  कतिपय देशमा कोरोनाको तेस्रो लहर चलिरहेको छ भने उता भारतमा बढ्दै गएको कोरोनाको संक्रमणको कारण नेपालमा भारतबाट आउने मानिसमा संक्रमण दर बढ्दै गएको छ । भारतीय सीमावर्ती क्षेत्रमा कोरोनाको कारण विद्यालय जोखिमयुक्त छन् ।

नेपालमा पहिलोपटक कोरोना खोप लगाएकाले पनि दोस्रो डोज पाएका छैनन् । कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्