०४ असार २०८३, बिहीबार

अब विजयकुमार गच्छदार पक्राउ पर्न सक्ने

चैत २४, २०७७
अब विजयकुमार गच्छदार पक्राउ पर्न सक्ने

वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमवार सकिएको छ ।

विशेष अदालतले ३० दिनको हद म्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो ।

गच्छदार मंगलवारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गच्छदारलाई शुरूमा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै सुनसरीमा म्याद टाँसेको थियो । अदालतले म्याद जारी गर्दा पनि उपस्थित नभएपछि दोस्रोपटक १ महिनाको समयसीमा राखेर म्याद जारी गरेको हो ।

अख्तियारले भने उनीसहित विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो, जरिवाना तथा कैदको माग गरिएको छ । 

उनीसँगै म्याद जारी भएका अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात विशेष अदालतको आदेशमा कारागार चलान भइसकेका छन् ।

अब अदालतमा उपस्थित नहुनुको कारण उनले पेश गर्न नसकेमा विशेष अदालतले थुनछेक आदेश जारी गर्न सक्ने छ । कोरोना महामारीको कारण देखाएर वा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको रिपोर्ट पेश गरेमा उनको हकमा हद म्याद थप हुन सक्ने छ ।

बालुवाटार जग्गा प्रकरणमा बिचौलिया शोभाकान्त ढकाल र डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई मात्र थुनामा पठाउने आदेश विशेष अदालतले गरेको थियो । पौडेल भने, ‘सर्वोच्च अदालतको आदेशबाट धरौटीमा रिहा भइसकेका छन् ।’ राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्