
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका नाममा सरकार पुन: लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।
मंगलवार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै लकडाउनमा नजाने बताएका हुन् ।
उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको बताए ।
लकडाउनले कोभिड संक्रमण फैलिनबाट रोक्न सकिने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनको भनाइ छ ।
मन्त्री त्रिपाठीले भने- ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्त्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ, किनभने लकडाउनले कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव, अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव ठूलो र दीर्घकालीन हुने रहेछ, तसर्थ संसारले नै जसरी यो लडाईं लडिरहेको छ हामी पनि एउटा यो लडाईंमा योद्धा भएको हुनाले सबैको काँधमा काँध मिलाएर लडाईं गर्न तयार छौं ।’
छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरू गरेको पनि मन्त्री त्रिपाठीले बताए ।
सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै उनले कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।
मन्त्री त्रिपाठीले भने, ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसका लागि सतर्क छौं । तर एउटा कुरा म यहाँहरूलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो । सावधान हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरू अवलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’
अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको उनले बताए ।
चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरू हुने पनि उनले बताए ।