![माओवादीले चार मन्त्रीलाई कारवाही गरेको पत्र सचिवालयमा, सांसद पद जाने [पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/Topbahadur_Lekhraj_Prabhu_Gaurishankar_scU2sn1Dgi.png)
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका ४ मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गराएको छ ।
स्थायी कमिटी बैठकको निर्णयानुसार पार्टी त्याग गरेर एमाले प्रवेश गरेका प्रतिनिधि सभाका ४ सदस्यलाई सांसद पदबाट पदमुक्त गर्न माओवादीले पत्र पठाएको हो ।
'माओवादीको पत्र सचिवालयमा दर्ता भएको छ, अब ऐन/कानूनबमोजिम प्रक्रिया अगाडि बढाउँछौं,' संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।
उक्त जानकारी सभामुखले संसद् बैठकमा पेश गरेपछि ती सांसदहरू पदमुक्त हुनेछन् ।
ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना माओवादीले संसद् सचिवालयलाई दिएको हो ।
हेर्नुहोस्, पत्र :

दल त्याग गरेको खण्डमा सांसद पद पनि जाने कानूनी व्यवस्था छ । उक्त पत्रमा राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको नाम भने उल्लेख छैन ।
माओवादी पार्टी त्यागेर सरकारमा सहभागी भएका खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ भने सांसद छैनन् ।
माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थापा बाग्मतीको इञ्चार्ज भइसकेका छन् भने भट्ट सुदूरपश्चिम प्रदेशको इञ्चार्ज बनेका छन् ।
एमालेमा जिम्मेवारी पाइसकेका नेताहरूले सांसद पद गुमे पनि माओवादीमा नफर्किने बताउँदै आएका छन् ।
पार्टी त्यागेका प्रदेशका सांसदहरूलाई माओवादले कारवाही गरिसकेको छ ।
प्रदेश १ का आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ तथा कर्णालीका एक र लुम्बिनी प्रदेशका दुई सांसदको पद गुमिसकेको छ ।