
काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ । स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर कामपाले काठमाडौँको भाषा, लिपि, कला, संस्कार, संस्कृतिलाई जीवन्त राखेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबुले आज यहाँ सांस्कृतिक बाजागाजासहित शहरको विभिन्न स्थानको परिक्रमा गरी नागरिक अभिनन्दन गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेवार जातिले नेपालको इतिहास र अस्तित्व बोकेकाले यसको पहिचानलाई जीवन्त राख्नुपर्नेमा जोड दिए । उनले कामपाले धर्म संस्कृति जगेर्नाका लागि चालेका विभिन्न कदमको पनि प्रशंसा गरे ।
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थानीय पाठ्क्रम लागू गर्नु ऐतिहासिक काम भएको भन्दै कक्षा १ देखि ८ सम्म मात्रै नभएर १२ कक्षासम्म लागू गर्न सुझाव दिए ।