
चीनका सशस्त्र बलहरूले सोमवार ताइवानको पूर्व र पश्चिममा एकैपटक सैन्य अभ्यास गरेपछि विश्लेषकहरूले यो ताइवान तथा अमेरिकालाई चेतावनी भएको बताएका छन् ।
चीनको विमानवाहक युद्धपोत लियाओनिङ र त्यससँगै अन्य पोतहरूले ताइवान नजिक गतिविधि गरेको चिनियाँ सेनाले सोमवार एक बयान जारी गरेर जनायो ।
‘यो नियमित तालिम अभ्यास थियो र सैनिकहरूको तालिम प्रभावकारिता तथा राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा तथा विकासलाई सुरक्षित गर्ने क्षमतालाई परीक्षण गरिएको थियो,’ बयानमा भनिएको छ ।
यससँगै चिनियाँ जनमुक्ति सेनाका कम्तीमा १० वटा युद्धविमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा आएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयले परिस्थिति नियन्त्रणमा रहेको र यसलाई उपयुक्त ढंगले व्यवस्थापन गरिरहेको जनाएको छ ।
बेइजिङले ताइवान आफ्नो अखण्ड भाग भएको दाबी गर्दै आएको छ जबकि दुवैले विगत ७० वर्षदेखि फरक फरक रूपमा शासन चलाइरहेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई मुख्यभूमिसँग मिसाउनका लागि बलप्रयोग गर्न नहिचकिचाउने बताएका छन् ।
ताइवानका विषयमा तनाव हालैका महिनामा बढेका छन् किनकि ताईपेईले अमेरिकाबाट नयाँ सैन्य सामग्री हासिल गरेको छ । त्यस्तै अमेरिका र ताइवानका तटरक्षकहरूबीच सहमति बनेको छ । अनि अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानको समर्थनमा दह्रो बयानहरू दिएका छन् ।